जाजरकोट। भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ। तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो।
२०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको छ। भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिकाले जनाएको छ।
सरकारी स्वामित्वको उक्त प्रशोधन केन्द्रले धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अनुसार भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने छ।
सरकारी स्वामित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्नेछ। अहिले रहेको जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने सडकभन्दा जाजरकोट भएर सुर्खेत नेपालगञ्ज जानका लागि सात घण्टा बाटो छोटो हुने गर्दछ।
प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ ।