काठमाडौं। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले कपिलवस्तुको चन्द्रौटामा वाटर पार्कसहितको उच्चस्तरीय रिसोर्ट संचालनमा ल्याउने भएको छ। कम्पनीका सीइओ कृष्ण न्यौपानेका अनुसार ५० करोड रुपैयाँ लगानी रहेको यो सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट आउँदो अंग्रेजी नयाँ वर्षबाट ग्राण्ड ओपनिङ गर्न लागिएको हो। गत असोज २१ मा रिसोर्टको सफ्ट ओपनिङ भएको थियो।
२८ बिघा क्षेत्रफल रहेको यो रिसोर्टमा हस्पिटालिटी सर्भिससहितको संरचनाहरु तीन बिघामा तयार पारिएको छ। डेढ बिघा क्षेत्रफलमा केटाकेटीहरुका लागि प्ले जोन निर्माण हुने जनाएको छ। बाँकी साढे २३ बिघा स्विमिङ पुल, वाटर पार्क सहित फिस फार्मिङ, मोटर बोटिङ लगायतका लागि छुट्याइएको न्यौपानेले जानकारी दिए।
अहिले ३६ वटा कोठा र वाटर पार्कसहित संचालनमा आउन लागेको रिसोर्टमा एक वर्षमै थप २० वटा कोठा र क्यासिनो सेवा विस्तार गर्ने योजना रहेको न्यौपानेले जानकारी दिए। कोठा क्षमता र क्यासिनो विस्तारपछि रिसोर्टको लागत थप बढ्ने छ। क्यासिनो संचालनका लागि कम्पनीले अहिले लाइसेन्सको प्रक्रिया सुरु गरिसकेको न्यौपानेले बताए।
यहाँको आकर्षण भनेकै पानीसँग जोडिएको गतिविधि हो। त्यसमा पनि पाहुनाले यहाँ भएका विभिन्न प्रजातिका माछा आफैं फिसिङ गर्दै पोलेर खान सक्नुहुनेछ, न्यौपानेले भने, एउटा प्राकृतिक वातावरणको अवधारणामा रिसोर्ट तयार गरेका छौं। यहीँ उत्पादन भएका माछा हामी सम्बद्ध होटल तथा रिसोर्टमा पठाउँदै आएका छौं।
विशेषगरी आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै यो अवधारणामा रिसोर्ट बनाइएको उनले बताए। रिसोर्टमा ठूला वाटर स्लाइडहरु राखिएको छ। यसमा चिल्ड्रेन पार्क, फाइन डाइन रेष्टुरेण्ट, बैंक्वेट, प्राइभेट डाइनिङ लगायतका सुविधा रहेको जनाइएको छ। जसमा रेष्टुरेन्ट नै पाँचवटा रहेको छ। यस्तै ६ सय, तीन सय र सय जना क्षमताको गरी कुल तीनवटा बैंक्वेट हल छन्।
न्यौपाने का अनुसार पर्यटन क्षेत्रमा कोभिडअगाडिको तुलनामा सकारात्मक परिवर्तन आइसकेको छ। मान्छे घुमफिरमा निस्किन थालेका छन्। अहिले भारतबाट पनि राम्रो इन्क्वाइरी आउन सुरु भइसकेको छ। कोभिड संक्रमण दर घट्दै गएको अवस्थामा मुलुकको पर्यटन क्षेत्र छिट्टै रिब्याक हुने देखिएको छ।