काठमाडौं। पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र स्थिर सरकार निर्माण गर्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प उनीहरूले गरेका हुन् ।
हाम्रो सङ्कल्प संविधानसभाले बनाएको संविधानको रक्षा गर्दै सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउनु हो, त्यसैले यो निर्वाचनमा मुलुकलाई सधैँ अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती गर्ने, राज्यका सबै अङ्गहरूलाई तहसनहस बनाई मुलुकमा भय र त्रासको वातावरण सृजना गरी मनपरितन्त्र चलाउने प्रतिगमनकारी, अधिनायकवादीहरू र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकास अगाडी बढाउने शक्तिहरू बिचको जनमत सङ्ग्रह हो ।’ उनीहरूले भनेका छन् ।
उद्यमशीलताको विकास गर्दै रोजगारी सृजना गर्ने, आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने, गरिबी निवारण र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लगायत विषयमा उनीहरूको साझा प्रतिबद्धता छ । उनीहरूले अथाह सम्भावना बोकेको गण्डकी प्रदेशको समग्र विकासका लागि तराई पहाड र हिमाल छिचोल्ने सुविधा सम्पन्न यातायात पूर्वाधार निर्माण, प्रदेशलाई मुलुक कै व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, कृषिमा आधुनिकीकरण सहित व्यवसायीकरण गर्ने, ऊर्जामा जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, अत्याधुनिक र विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा प्रदेशको विकास गर्ने, उच्च उचाइ खेलमैदान निर्माण गर्ने उनीहरूको प्रतिबद्धता छ ।
पोखरा महानगरपालिकाबाट हरेक पालिकाका केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडकहरू निर्माण गर्ने, पालिकाका केन्द्रहरूलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, महिला शिक्षा र रोजगारीमा जोड दिने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने र पिछडिएका वडामा विशेष योजनाहरू कार्यान्वयनमा ल्याउने उनीहरूले प्रण गरेका छन् । ‘यसलाई मुलुकको सबै भन्दा सम्पन्न, आत्मनिर्भर, उच्च निर्यात भएको, आधुनिक प्रविधि युक्त, लगानीमैत्री, समावेशी, प्रजातान्त्रिक र सबै धार्मिक क्षेत्र र मठ मन्दिरहरूमा योग साधना केन्द्र स्थापित गर्ने सङ्कल्पका साथ प्रतिबद्ध छौँ । साथै भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त र मानव विकास सूचकाङ्कमा नमुना प्रदेश बनाएर देखाउने बाचा गर्दछौँ ।’ गठबन्धनका उमेदवारहरुको साझा प्रतिद्धतामा भनिएको छ ।