झापा। पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत प्रदेश–१मा पर्ने काँकडभिट्टा–इनरुवा क्षेत्रमा उत्पन्न मुआब्जा लगायतका समस्या समाधान गर्न रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समितिले माग गरेको छ। समितिले रेलवेमा पर्ने वास्तविक जग्गाको डिमार्केसनलगायत प्राविधिक काम पूरा गरी तत्काल चलनचल्ती मूल्यको मुआब्जा वितरण गरिनुपर्ने जनाएको छ।
रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समितिका महासचिव रञ्जित प्रसाईँका अनुसार डेढ वर्षदेखि रेलवेको काम अघि बढ्न नसक्दा डिमार्केसन बाहिरका जग्गा पनि किनबेच गर्न नपाएको हो। उनले बाँकी जग्गा फुकुवा गर्न आग्रह गर्दै रेलवे परियोजनाबारे सरकारको धारणा प्रष्ट हुनुपर्ने माग गरे।
सरकारले २०७७ जेठ १४ गते जग्गा अधिग्रहणको सूचना जारी गरे पनि अहिलेसम्म काम अघि बढाउन भने अझै सकेको छैन। ४ विगाह जग्गा रेलमार्गले लाने र अन्य जग्गासमेत फुकुवा नहुँदा लाखौँ घाटा बेहोर्नु परेको प्रसाईँ सुनाउँछन्। जग्गा रोक्का भई लामो समयदेखि काम अघि नबढ्दा प्रभावित क्षेत्रका सर्वसाधारण ठुलो समस्यामा परेका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार रेलवे प्रभावितहरुलाई चलनचल्ती र वैज्ञानिक मूल्यांकनका आधारमा मुआब्जा उपलब्ध गराइने छ। रेल विभागको अग्रसरता योजना सम्पन्न गर्नका लागि महत्वपूर्ण हुने भन्दै तोकिएको जिम्मेवारी समयमा नै पूरा गर्न रेल विभाग घच्घच्याउने झापाका प्रजिअ तिम्सिनाले बताए। जिल्ला प्रशासनको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरु तत्काल नै पूरा गर्न आफू तयार रहेको प्रजिअ तिम्सिनाले जनाए।
प्रदेश–१ का लागि रेल योजना कार्यालय दमकका योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले कोरोना महामारी, सरकार परिवर्तन, लामो समयको मनसुन र चाडपर्वले गर्दा काममा ढिलाइ भएको बताउँदै छठ लगत्तै प्राविधिक लगायतका सबै काम तीव्र रुपमा अघि बढ्ने बताए। उनले मुआब्जा तथा योजना निर्माणका लागि तत्काललाई २४ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा फाइल पुगेको बताउँदै उक्त विषयमा निर्णय भएपछि मुआब्जा वितरणसँगै योजना निर्माणको काम अघि बढ्ने बताएका छन्।
रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रको लगभग ४ हजार कित्ता अर्थात् करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण हुनेछ। त्यसमा झापाको मात्र २ हजार २ वटा कित्ताको ३ सय ३७ बिघा जग्गा अधिग्रहण हुनेछ। झापामा मात्र मुआब्जा वितरण गर्न १३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ।