काठमाडौं। आजदेखि उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा यान्त्रिक उडान गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न लागेको हो।
यसका लागिएरोथाईको टोली नेपाल आइसकेको छ । कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन् ।
एरोथाईको टोलीले आज गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्ने प्राधिकरणले जनाएको छ । यस पटक पूर्वको भद्रपुर विमानस्थलदेखि पश्चिमको धनगढी विमानस्थलमा यान्त्रिक उडान हुन लागेको हो । गत आइतबार नै काठमाडौँ आइपुगेको एरोथाईको प्राविधिक उपकरण जडित जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारलगायतका क्षेत्रको यान्त्रिक परीक्षण गरेर भैरहवातर्फ लागेको छ।
यस पटक काठमाडौँ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको छ । मङ्सिर ५ देखि ११ गतेसम्म पोखरामा यान्त्रिक परीक्षण उडान गरिने भएको छ ।
तालिकाअनुसार एरोथाईको जहाज मङ्सिर २ गते पोखरा पुग्नेछ । मङ्सिर ३ गते परीक्षण उडानबारे प्राधिकरणका अधिकारी र क्याबिन क्रु तथा इन्जिनियरहरूसँग तयारी बैठक हुनेछ । मङ्सिर ४ गते नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ ।
निर्वाचनको भोलिपल्ट अर्थात् मङ्सिर ५ गतेदेखि भने पोखरामा यान्त्रिक परीक्षण उडान सुरु हुनेछ । यस उडानका क्रममा एयर ट्राफिक कन्ट्रोलर टावर, धावन मार्ग र विमानस्थलमा जडान सबै उपकरणले काम गरे नगरेको जाँचिनेछ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुस १७ गतेदेखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । सञ्चार र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान तथा अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ । यान्त्रिक उडान सम्पन्न भएपछि एरोथाईले बुझाउने प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।