नेपालगञ्ज। नेपालगञ्जस्थित नेपाल–भारत सिमानामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को काम आगामी असारसम्ममा पूरा हुने भएको छ। हाल ७० प्रतिशत काम पूरा भएको आईसीपीको निर्माण कार्य दिन रात गरेर पनि असारमा पूरा गर्ने निर्माण कम्पनीले जनाएको छ।
भारतीय सिमानासँग जोडिएको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा निर्माण भइरहेको जाँच चौकी निर्माणमा कोभिड–१९ र वर्षालगायतका कारण ढिलाइ भएको थियो। अबको सात महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
भारततर्फको निर्माण कार्य करिब पूरा भइसकेको र अन्तिम चरणको कार्य भइरहेको कम्पनीले जनाएको छ।
जाँच चौकी निर्माणका लागि नेपाल सरकारले अधिग्रहण गरेको ९१ बिघामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गरिरहेको छ भने बाँकी २४ बिघामा सडक निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, नेपालगञ्जले जनाएको छ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ, नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले हाल निर्माण कार्यलाई तीव्र पारिएको जनाउँदै आईसीपीदेखि मुख्य राजमार्ग जोड्ने सडक कालोपत्रे गरिसकिएको जानकारी दिए।
सो जाँच चौकीको निर्माण पूरा भएपछि नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सबै कार्य एकै ठाउँबाट प्रवाह हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने उद्योगी, व्यवसायीले बताएका छन्।