बैतडी। दशैंमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन्। वर्षात्को समयदेखि बन्द रहेका ग्रामीण सडक दशैंमा पनि खुलेका थिएनन्। बेमौसमी वर्षाका कारण गत हप्तादेखि फेरी त्यहाँका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन्।
वर्षाले अवरुद्ध जिल्लाको छेला दुर्गाभवानी सडक, ढोल्यामोड–हाट सडक, सतबाँझ–सुर्नया, दुदिलाखान गाँजरी सडक, अनारखोली कैलपाल सडक, सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे, सिल्लेगडा–रिमलगायतका सडकहरू अझै चालू नभएका हुन्। ग्रामीण सडक सञ्चालनमा नआउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ भने खाद्यान्न ढुवानीमा समेत समस्या भएको स्थानीयले जनाएका छन।
सो सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न सामान ढुवानी गर्न र आवतजावतमा समस्या भएको छ। ग्रामीण सडकहरू सञ्चालनमा ढिलाइ हुँदा दशैं मान्नका लागि गाउँ आएकालाई फर्किनसमेत सकस भएको छ। सम्बन्धित निकायले समयमै चालु गर्ने प्रयास नगरिदिँदा स्थानीयलाई सास्ती हुने गरेको छ। स्थानीय तहहरूले डोजर लगाएर खनेका अधिकांश सडक अवरुद्ध बनेका स्थानीयले बताएका छन्। सडक खुलाउन अझै कहीँकतैबाट प्रयास नभएको समेत स्थानीय गुनासो रहेको छ।
सो सडकहरू अवरुद्ध भएपछि ग्रामीण भेगका बजारहरूमा व्यापारीहरूले हरेक सामानको मूल्य वृद्धि गरी बिक्रीवितरण गर्ने गरेका छन्। यातायातका साधन बन्द हुँदा खच्चर तथा भरियाहरूमार्फत व्यापारीहरूले सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महंगी भएको नागरिकहरूको गुनासो रहेको छ। ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत महंगिएको दोगडाकेदार गाउँपालिका १ रिमका स्थानीय बासिन्दाले जानकारी दिएका छन्। वर्षातका कारण उक्त सडकखण्ड विभिन्न ठाउँमा भत्किएको छ भने कुनै ठाउँमा माथिबाट पहिरो खसेर अवरुद्ध भएक छ।
त्यस्तै शिवनाथ गाउँपालिकामा अवरुद्ध रहेका सडकहरू खुलाउनका लागि डोजरको प्रयोग गरिएको गाउँपालिका उपाध्यक्षले बताएका छन्। यस्तै अन्य स्थानीय तहहरूले पनि सडक खुलाउने कार्य भइरहेको जनाएका छन्।