काठमाण्डौं। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्।
जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो । उसो यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौँ कुर्नुपर्छ भने ठूलावडाको भनसुन लगाउनुपर्छ । सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ ।
यसपल्ट पक्का सडकसँग सिमकोट जोजिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई एउटै आश्वासन दिँदै आए तापनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन् । सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीयस्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन् ।
विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन् । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ । तर सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ ।
सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ । चौबिस वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद् भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन् । २०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् ।
हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ । सडक नारामा आउँछ, व्यवहारमा आउँदैन । विसं २०६४, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारका मुखमुखमा सडक थियो तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन । समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ ।
अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहोर्याउने भनाइ भने नयाँ होइन । करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ । सरकारले २०५१ सालदेखि हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ ।
कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ । यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ ।
अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगरसम्मको ११ किमी बाँकी छ । यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ । असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ ।