काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढेको छ। नागरिक उड्डयन प्राधिकरणले हिजोबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।
प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ।
प्राधिकरणले २०६७ को नियमावलीअनुसार ठेक्का सम्झौता भएकाहरूसँग सम्झौता अवधिसम्म पुरानै दरमा लिने नयाँको हकमा भने नयाँ शुल्क लाग्ने गरी निर्णय कार्यान्वयनका लागि पत्रचार गरेको विमानस्थल कार्यालयले जनाएको छ।
हिजोदेखि बढाएको शुल्कअनुसार अब मोटरसाइकल र स्कुटरधनीले प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ।
यसअघि २०६७ सालको नियमावली अनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। तर अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो।
त्यस्तै कारको प्रतिघण्टा २० रूपैयाँ तोकिएको थियो। अहिले तय भएको रकम पहिलेको भन्दा ६० रूपैयाँ बढी हो।
मोटरसाइकल, स्कुटर र रिक्सा प्रतिघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ। कार, जीप, लेमोजिन, टेम्पो प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ। हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ। बस ट्रक (गह्रौ सवारी साधन) प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ पुगेको छ।