सिन्धुपाल्चोक। मेलम्ची भन्नेबित्तिकै जो कसैलाई ‘प्रशस्त पानी भएको ठाउँ’ भन्ने लाग्छ । सरकारले समेत काठमाडौं उपत्यकामा खानेपानी अभावको दीर्घकालीन समाधान गर्न भनेर २४ वर्षदेखि मेलम्चीबाटै राष्ट्रिय प्राथमिकताको आयोजना निर्माण गरिरहेको छ । तर ‘मेलम्ची खानेपानी आयोजना’ बाट उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी आपूर्ति गर्ने लक्ष्य रहेको मुहान क्षेत्रमै खानेपानीको अभाव छ ।
‘सरकारले यहाँको पानी काठमाडौंको घरघर पुर्याउन सक्छ, हामी यहींका मान्छेको दुःख देख्दैन,’ मेलम्ची बजारमाथि घर भएकी जानुका कार्कीले भनिन् । उनको घरमा धारा नजोडिएको होइन तर सधैं पानी आउँदैन । हिउँद लागेपछि तिरतिरे धारो पनि सुक्छ । जसोतसो खानेपानी जोहो गरेर राखेपछि लुगा धुन, नुहाउन मेलम्ची नदी धाउनुपर्छ । ‘१५।२० मिनेटको बाटो धेरै टाढा त होइन, ढुंगामा चिप्लेर लडियो भने, लेकतिरबाट एक्कासि बाढी उर्लेर आइदियो भने डर हुन्छ,’ उनले भनिन् । अर्का स्थानीय सोम तामाङले भने, ‘काठमाडौंलाई पानी खुवाउन सरकारले कत्रो बजेट खर्च गरिसक्यो, हामीलाई यहाँ व्यक्तिगत दुई।तीन खर्च गरेर मुहानबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।’ उपत्यकालाई करोडौं लिटर खानेपानी पठाउने मेलम्ची आसपासका बस्ती भने हिउँदयाममा आफैं काकाकुलको स्थितिमा पुग्छन् ।
मेलम्ची नगरपालिकामा कुल जनसंख्याको ९४ प्रतिशत अर्थात् ११ हजार १ सय ६० घरधुरीले खानेपानीको समस्या भोगिरहेका छन् । जसमध्ये ७२ प्रतिशत अर्थात् ८ हजार ५ सय २८ घरधुरीमा खानेपानीको अत्यधिक समस्या छ । नगरपालिकाका अनुसार २२ प्रतिशत अर्थात् २ हजार ६ सय ३२ घरधुरीमा सामान्य समस्या छ । जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोकको ०७३ को प्रतिवेदनअनुसार मेलम्चीमा १३ वटा खानेपानी आयोजनाबाट कुल जनसंख्यामध्ये ३० अर्थात १७ हजार ८ सय ६४ जनसंख्या मात्रै लाभान्वित छन् । नगरपालिकामा ९० वटा मुख्य खानेपानीको मुहान तथा स्रोतमध्ये वडा नं. ११ मा सबैभन्दा बढी र वडा नं. ८ मा सबैभन्दा कम मुहान छन् ।
नगरपालिकामा अझै पनि कुल जनसंख्याको झन्डै चार प्रतिशत जनसंख्या खोलानदी, पँधेरोका खानेपानी स्रोतमा निर्भर छन् । ०७२ को भूकम्पले गर्दा जमिनमा धाँजा फाँटेपछि खानेपानीका मुहानसमेत सुक्दै जान थालेका हुन् । भूकम्पमा परेर मेलम्ची नगरपालिकामा ५०२ को मृत्यु भएको थियो । ४०७ जना घाइते भएका थिए । ठूलो मात्रामा भौतिक क्षति भएको थियो । नगरपालिकाका मेयर आइतमान तामाङले पछिल्लो समय ‘एक घर एक धारा’ को अवधारणाअनुरूप खानेपानी पुर्याउने कार्य भइरहेको बताए ।
काठमाडौं उपत्यकाको दैनिक करिब ३५ करोड लिटर पानीको मागलाई धान्न एक मात्र विकल्पका रूपमा सुरु भएको थियो मेलम्ची खानेपानी आयोजना । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची नदीको रिबर्मा, याङ्ग्री र लार्के नदीबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने दीर्घकालीन लक्ष्यका साथ आयोजना अघि बढेको थियो । ०४७ सालतिर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा आपूर्ति गर्ने प्रतिबद्धता सार्वजानिक गरेका थिए । ०५२ सालमा मेलम्ची खानेपानी लिमिटेडको स्थापना भयो ।
२०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले आयोजनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । हालसम्म मेलम्ची आयोजनामा ३१ अर्ब खर्च भइसकेको छ । कान्तिपुरबाट