काठमाडौं। निर्वाचनको दिन नजिकिँदै गर्दा देशभरबाट ७ हजारभन्दा बढी व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका छन्। यो कात्तिक महिनामा मात्र निर्माण कम्पनीलगायतका ७ हजार ९ सय २६ कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो।
केन्द्रको तथ्यांक अनुसार यस अवधिमा निर्माण कम्पनीदेखि कृषि फार्म, होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेहरू समेत यस अवधिमा कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा पर्नेमा सञ्चालक दिपेश लामा र पूर्णबहादुर तामाङ रहेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्राली, वल्र्ड ट्रेड कन्ट्रक्सन कम्पनी, प्रतिष्ठा कन्ट्रक्सन प्रालि, अनेष्ट कन्ट्रक्सन प्रालि, अमन एण्ड ईशा कन्ट्रक्सन प्रालि, बिन्दु हार्डवेयर एण्ड स्यानीटरी सप्लायर्स, हिमालयन इन्फ्रास्टक्चर एण्ड कन्ट्रक्सन प्रालि रहेका छन्। त्यसैगरी जानकी निर्माण सेवा उद्योग, नागार्जुन कन्ट्रक्स कम्पनी, साइनाथ सिद्धबाबा इट्टा उद्योग पनि कालोसूचीमा परेको केन्द्रले जनाएको छ।
सहकारीहरुमा आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, हिँउचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र मेगा ड्रिम बहुउद्देश्यीय सहकारी, आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक अनिल खड्का र जीवन बुढाथोकी पनि कालोसूचीमा परेका छन्। अन्य कुन कुन व्यक्ति तथा कम्पनी कालोसूचीमा परे भन्ने कर्जा सूचना केन्द्रमा गएर हेर्न सकिन्छ।
केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ ।