काठमाडौं। सडक विभाग अन्तर्गतको पुल महाशाखाले डेढ अर्ब लागतमा ६ वटा पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ। महाशाखाले यसका लागि ६ वटा निर्माण व्यवसायीले निर्माण कार्यको लागि ठेक्का दिएको छ।
ठेक्का पाउने निर्माण व्यवसायीले अबको १८ महिनादेखि तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ। साथै डिजाइन र निर्माण आफैंले गर्नुपर्ने पुल महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ६ वटा पुल निर्माणका लागि सबै ठेक्का लागिसकेका छन्। यसको सम्झौता मात्र हुन बाँकी छ। उदयपुरको त्रियुगा खोलामा बन्ने पुलको ठेक्का सुर्या एण्ड सन्सले ४० करोड ३४ लाख रुपैयाँमा पाएको छ। यो पुल निर्माण भएपछि हडिया गाविसका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ।
यस्तै कर्णाली नदीमा सुर्खेत र कैलाली जिल्लालाई जोड्ने पुल निर्माणका लागि एएनके कन्स्ट्रक्सन कम्पनीले ५५ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको महाशाखाले जनाएको छ। यो पुल सबैभन्दा धेरै लागतमा निर्माण हुने भएको छ।
यसैगरी बबई खोलामा निर्माण हुने ओभरब्रिजको ठेक्का १७ करोड रुपैयाँमा शान्ति निर्माण सेवाले पाएको छ। यस्तै कोइली खोलामा निर्माण गरिने ओभर ब्रिजको ठेक्का भने बबुल निर्माण सेवाले पाएको छ। यो कम्पनीले १७ करोड ३० लाख रुपैयाँको लागत सो पुलको निर्माण कार्य गर्नपर्ने छ। यो पुल कपिलवस्तुको बोडेगाउँ जिनुवा सडक खण्डमा पर्छ।
शान्ति निर्माण सेवाले मकवानपुरको दुवाकोट बेसी मन्थलीमा निर्माण हुने पुलको पनि १२ करोड ४८ लाखमा ठेक्का पाएको छ। यस्तै शान्ति निर्माणले अरुण खोलामा बन्ने पुलको पनि ठेक्का पाएको छ। यो पुल निर्माणको लागि लगभग १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यो पुलले संखुवासभाको नुम सेडुवा तासीगाउँलाई जोड्छ।
यी पुलहरु सबै स्थानीय सडक संजाललाई जोड्न निर्माण गर्न लागिएको महाशाखाले जनाएको छ। यो पुलहरु ७० मिटरदेखि ६०० मिटरसम्म लामो रहेका छन्। बिजमाण्डूबाट