काठमाडौं। ६ महिनाअघि सम्झौता भएका तीन योजना सिद्धबाबा सुरुङमार्ग, तीनकुने आर्क ब्रिज र ग्वार्को फ्लाइओभरको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभरको डिजाइन अन्तिम चरणमा पुगेको हो। बुटवल–पाल्पा रुटको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाको जिम्मा अहिले विकास केन्द्रले नै लिएको छ। बज्राचार्यका अनुसार ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनका लागि मात्र छुट्याइएको थियो।
यसैगरी काठमाडौं उपत्यका सडक विस्तार योजनाले पनि तीनकुनेमा पुन निर्माण गरिने आर्क ब्रिजको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको छ।
विकास केन्द्रका इन्जिनियर सौरव बज्राचार्यका अनुसार अहिले सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभरको डिजाइन बनाउने काम अन्तिम चरणमा छ। ुनिर्माण कम्पनीहरुले डिजाइनको काम लगभग सम्पन्न गरिसकेका छन्, उनले भने, तर उक्त डिजाइन विकास केन्द्रले स्वीकृति गरेपछि मात्र भौतिक रुपमा निर्माण गर्न मिल्छ।
यी सबै योजनाको ठेक्का इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा भएको हो। यसमा डिजाइनको काम निर्माण व्यवसायीले नै प्राविधिकमार्फत गरेर विकास केन्द्रलाई बुझाउनु पर्छ। विभागले डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको काम अघि बढ्न बाटो खुल्छ।
यस्तै तीनकुने पुलको भने उपत्यका सडक विस्तार योजनालाई बुझाउनु पर्ने छ। बज्राचार्यका अनुसार सुरुङ सम्बन्धी मापदण्ड बनेकाले त्यो अनुसार डिजाइनको काम भएनभएको हेरेर मात्र निर्माणको काम अघि बढाउन दिइनेछ। तर डिजाइनमा केही परिमार्जित गर्नुपर्ने आवश्यक भएमा फेरि डिजाइन बनाउन समय आवश्यक पर्ने बज्राचार्यले बताए।
सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता गत फागुन २६ गते भएको थियो। सम्झौता अनुसार डिजाइनको लागि कात्तिक महिना अन्तिम समय हो। निर्माण व्यवसायीले ५ वर्षभित्र उक्त सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्नुपर्ने र त्यसपछि ५ वर्षसम्मको मर्मत सम्भारको पनि जिम्मा लिनुपर्ने गरी सम्झौता भएको हो।
यो सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको हुने केन्द्रले जनाएको छ। निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म १ हजार १ सय २६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा सम्झौता गरिएको छ। अहिले रहेको सडक करिब ५ किलोमिटर लामो रहे पनि पहाडको बीचबाट छेडेर सुरूङमार्ग निर्माण गर्दा दूरी घट्ने छ।
यसैगरी ग्वार्को फ्लाइओभरको ठेक्का पाएको निर्माण व्यवसायीलाई डिजाइनका लागि ४ महिनाको समय दिइएको थियो। कम्पनीले डिजाइन र निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ। बालकुमारीतर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिनेछ। त्यतातर्फ २८० मिटर लामो र्याम हुने र सातदोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्याम्प हुने केन्द्रले जनाएको छ।
यस्तै केन्द्रका अनुसार सुपर स्ट्रक्चर ३५ मिटर हुने फ्लाइओभरको जम्मा लम्बाई ४ सय ९० मिटर हुनेछ। मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी चल्नेछन्।
यो फ्लाइओभरको ठेक्का आशिष समानान्तर जेभीले १७ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का पाएको हो। यी आयोजनाको काम असोजबाट सुरु गर्ने गरी योजना बनाइएको थियो। तर डिजाइनको कामले तीव्रता पाउन नसक्दा निर्माण कार्य योजना अनुसार हुन नसकेको बज्राचार्य बताउँछन्।
उपत्यका सडक विस्तार योजनाका अनुसार यसको पप्पुले अलपत्र पारेको डिजाइनभन्दा फरक पुनः डिजाइन गरेर पुलको निर्माण गर्न लागिएको हो। यसैमा आधारित रहेर नयाँ ठेक्काको जिम्मा पाएको निर्माण कम्पनी आफैंले डिजाइनको काम गर्नुपर्ने व्यवस्था छ। त्यही अनुसार अबको केही दिनमा यसको डिजाइनको काम सकिने निर्माणको कामले तीव्रता पाउने योजनाले जानकारी दिएको छ।
यो पुलको डिजाइन तथा निर्माण ४२ महिनामा सम्पन्न गर्नेगरी वाइपी किरातेश्वर जेभीसँग ठेक्का सम्झौता भएको थियो। सो ठेक्काको लागत २४ करोड ५९ लाख ६७ हजार रुपैयाँ छ। बिजमाण्डूबाट