बागलुङ। वर्षौदेखि जोखिम बनेको ‘राजाको पुल’ पक्की बनेको छ । गलकोटे राजाको पालामा बनेको झोलुंगे पुल मर्मत गरेर पनि संचालनमा ल्याइएको छ भने सोही स्थानमा मोटर चल्ने पक्की पुल पनि बनाइएको हो ।
गलकोट नगरपालिका–५ र ६ जोड्ने दरमखोलामाथीको ‘राजाको पुल’ बनेपछि वर्षातमापनि यात्रीले सहज यात्रा गर्न पाएका छन् । जीर्ण झोलुंगे पुलमा यात्रा गरेकाहरूले सवारी साधन लिएर यात्रा गर्न सक्ने भए । यो पुल बन्नुअघि हिउँदमा सवारी साधन दरमखोलाबाट तर्थे भने बर्षातमा आउजाउ ठप्प थियो ।
पुरानो सदरमुकाम र गलकोटे राजाको दरवारसमेत रहेको हरिचौरमा घुम्न जानेले समेत पुल अभावमा सास्ती खेपेका थिए । वारीपारी खेतीपाती हुने किसानले बर्षातमा आउजाउ गर्न सक्थेनन् । भैसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर यहाँ पुग्न डेढ घण्टा समय लाग्थ्यो । गौंदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कंपनीले साढे तीन करोडमा बनाएको हो । दरमखोला पुल भने जयबाबा गोरखारओखलढुंगा संयुक्त निर्माण कम्पनीले ५ करोड ९ लाखमा बनाएको हो ।
दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौर स्थित दरवार र पुरानो सदरमुकाम घुम्न ४ किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौदीखोला, दरमखोला र खहरे खोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ । सडक नआउन्जेल झोलुंगे पुलमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । सवारी आउन थालेपछि पक्की पुलको माग बढेको थियो । दुवै खोलामा पक्की पुल नहुँदा नगरपालिकामा काम बिशेषले आउनेले पनि सवारी चढ्न पाएका थिएनन् । वडा नं ५ को बाटो आउनेले दरमखोला पारी र वडा नं ३ को बाटो आउनेले गौंदीखोला पारी सवारी रोकेर पैदल हिडेपछि मात्रै नगरपालिका कार्यालय पुगिन्थ्यो ।
पुल बनेपछि गलकोटदेखि ताराखोला जाने सडक पनि सहज बनेको छ । ‘गलकोट नगरभित्रै ४ वटा पक्की पुल बनेका छन्, अझै दुइतीनवटा बनाउन बाँकी छ’ गैरेले भने, ‘बजेट र कार्यक्रमको खोजीमा छौं ।’ लामो समयदेखि अलपत्र रहेको वडा नं ७ र ८ जोड्ने दरमखोला पुलको काम सक्न पनि ताकेता गरेको उनले बताए । महत्वपूर्ण पुल निर्माणमा संघिय सरकारको ध्यानाकर्षण गराएको उनले बताए । पुरानो सदरमुकाम र गलकोट दरबार हेर्न दैनिक धेरै पर्यटक पुग्छन् । पुल बनेपछि यो क्रम बढ्ने वडा ५ का अध्यक्ष पवन हमालले बताए ।
यही बाटो भएर ताराखोलाको गाईघाट झरना हेर्न जान सकिन्छ । उक्त झरनामा समेत दैनिक झण्डै २ सय पर्यटक जाने गरेका छन् । ताराखोला गाउँपालिकाबाट गलकोट हुँदै सदरमुकाम जाने मुख्य सडक पनि यही हो । त्यसैले खहरे खोलामा पनि तत्काल पुलको आवस्यकता रहेको हमाल बताउँछन् । यी दुवै पुल बनेपछि हरिचौरको टेउवामा बनेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालासम्म सवारी साधन लिएर जान सकिने भएको छ । ११ देशका १५ कलाकारले बनाएका ती मुर्तिकला हेर्नपनि सयौं पर्यटक पुग्न थालेका छन् । टेउवासम्म गाडि चढेर गएपछि तीन घण्टा हिडेर घुम्टे पहाड पनि उक्लन सकिन्छ । कान्तिपुरबाट