फाइल तस्बिर
काठमाडौं। तल्लो लिखु जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले लिखु नदीमा निर्माण गरेको आयोजनाबाट कात्तिक १९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिएको हो।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको परीक्षण पूरा गरेर व्यवसायिक उत्पादन सुरु गरिएको हो ।
सानिमा हाइड्रो समूहको लगानीमा निर्माण भएको आयोजनाको असोज अन्तिम सातादेखि परीक्षण गरेर कात्तिक १९ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ ।
आयोजनाको विद्युत २३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।
कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ ।
२०७२ साल चैत २८ गते कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हुँदा उसले अबको २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ ।
यो आयोजना यस अघि नै सम्पन्न हुने गरी निर्माण भइरहे पनि गत वर्ष बर्खाको बाढीले स्थानीय क्षेत्रका सडक पूर्वाधारमा क्षति पुगेकोले निर्माण उपकरण लगायतको ढुवानीमा समस्या हुँदा काम केही ढिलाई हुन पुगेको हो । त्यसअघि कोरोना महामारीको असर पनि यो आयोजनामा पर्न गएको थियो ।