गुल्मी। कोरियामा रहेका आफ्ना छोरासँग धुर्कोट गाउँपालिका–६ रजस्थलकी ५५ वर्षीया वेदकुमारी पाण्डेय दिनदिनै भिडियो च्याट गर्छिन् । अघिल्लोपटक त्यही छोरा मलेसिया हुँदा ६।७ महिनामा एक कल फोन गरेर छोराको खबर थाहा पाउने गरेकी थिइन् ।
उनलाई अहिले दिनदिनै भिडियो च्याट गर्दा छोरा काखमै भएजस्तो लाग्छ । जिल्ला सदरमुकामबाट २३ किलोमिटर टाढाको ग्रामीण बस्तीमा रहेकी उनले टिकटक र फेसबुकमा आफूले लगाएका खुर्सानीको प्रचार गरेर बिक्रीसमेत गर्छिन् । कहीलेकाहीँ वाइफाइले काम नगरे पनि परिवारका हरेक सदस्यको हातमा मोबाइल छ । डाटाबाट इन्टरनेट चल्छ ।
मोबाइल र इन्टरनेट मात्र होइन, गुल्मीका हरेक टोलमा अहिले मोटरबाटो पुगेको छ । पेन्सन बुझ्नका लागि पैदलयात्रामार्फत जिल्ला सदरमुकाम पुगेर तीन दिनमा घर फर्कने इस्मा गाउँपालिका–४ की ७८ वर्षीया ज्ञानकुमारी कार्की अहिले गाडीमा एकै दिनमा काम सकेर घर आउँछिन् । उनको गाउँबाट सदरमुकामका लागि बाह्रै महिना सार्वजनिक सवारी साधन चल्छन् । ‘ओहो हाम्ले पहिला–पहिला त कति दुःख पाइयो भनिसाध्य छैन,’ उनले भनिन्, ‘त्यतिखेरका दिनका लेखी त अहिले त कति हो कति सुविस्ता छ नि ’
अचेल गाउँमा स्वास्थ्य उपचारमा पनि त्यति समस्या छैन । मालिका गाउँपालिका–६ को अर्जै स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर छन् । दुई वर्षअघिसम्म सामान्य ज्वरो जाँच गराउन ३० किलोमिटर टाढाको जिल्ला अस्पताल तम्घास पुग्ने त्यहाँका स्थानीय एक्सरे, भिडियो एक्सरे र सामान्य रगत तथा दिसा पिसाब जाँचसमेत अहिले गाउँमै गराउँछन् । एउटा जिल्ला अस्पताल, चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र ७६ स्वास्थ्य चौकी रहेको गुल्मीमा ६६ मा बर्थिङ सेन्टर छन् । २८ स्वास्थ्य संस्थामा ल्याब, दुईमा एक्सरे र १० वटामा भिडियो एक्सरे सेवा छ । चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र दुईवटा स्वास्थ्य चौकीमा मेडिकल अधिकृतले उपचार सेवा दिन्छन् ।
मालिका गाउँपालिका–६, अर्जेका मोहन पोखरेल आफ्नै गाउँनजिकैको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा सर्भे इन्जिनियरिङ विषयमा डिप्लोमा पढिरहेका छन् । ‘पहिला यति पढ्न काठमाडौं जानु पर्थ्यो, अहिले हामीले आफ्नै घरमा बसेर पढ्न पाएका छौं,’ उनले भने, ‘खर्च पनि जोगियो, राम्रो विषय पनि पढ्न पाइयो ।’ १०।१५ वर्षअघिसम्म उज्यालोका लागि टुकी बालेको, आवाटेलिफोन गर्न पैदलै हिँडेर सदरमुकाम पुगेको, पँधेरा र कुवाबाट पिठ्यूँमा पानी बोकेको, बिरामीलाई स्टेचरमा बोकेरै सदरमुकाम पुर्याएको देखेभोगेका स्थानीयलाई छोटो समयको यो परिवर्तन अनौठो लाग्छ । ‘३२।३३ वर्षअघि जेठो छोरा बिरामी हुँदा गर्भवती अवस्थाकी मान्छे पैदलै हिँडेर तानसेन पुगेकी हुँ,’ मदाने–४ की टीकादेवी थापाले भनिन्, ‘अहिले यति चाँडै यो परिवर्तन होला भनेर त कल्पना पनि थिएन ।’ छोटो अवधिमा विकासले मारेको फड्कोसँगै गुल्मेलीहरू जटिलता र बाध्यताबाट पनि क्रमिक रूपमा मुक्त हुँदै छन् । जसका कारण जीवनयापन सहज भएको छ । ‘कि त भने बटौली, पत्थरकोटबाट ७ दिन ८ दिन लगाएर नुन बोकेर पनि खाइयो, दुईरतीन दिन हिँडेर तानसेनबाट तेलरचामल बोकेर खाएको धेरै भएको छैन,’ छिटोछिटो भएको परिवर्तन सम्झिँदै सत्यवती–१ अश्लेवाका ७९ वर्षीय प्रेमनारायण पाण्डेले भने, ‘अहिले अब आफ्नै दैलाँमा गाडी आउँछ ।’
अहिले जिल्लाका गाउँका थुम्काथुम्कामा मोबाइलका टावर छन् । लगभग सबैका हातमा मोबाइल छ, नभए पनि एउटा मोबाइल नभएको घर छैन । हरेक टोलमा इन्टरनेटको तार जोडिएको छ । नभए फाइवर इन्टरनेट जोडेका छन्, नजोड्नेहरूले पनि मोबाइल डाटाबाट इन्टरनेट चलाउँछन् । आफूले गाउँमै बिजुलीको बिल मोबाइलबाट तिर्ने, अनलाइन सपिङ गरेर आफूलाई मन परेका कपडा कुरियरबाट घरमै मगाउने र नयाँ नयाँ जानकारी लिने गरेको गृहिणी महिलाहरू बताउँछन् । जिल्लामा १ लाख ५ हजार ७ सय ६८ मोबाइल प्रयोगकर्ता छन् भने १३ हजार १ सय ९८ इन्टरनेट प्रयोगकर्ता रहेको तथ्यांक छ । जिल्लामा ८ सय २१ एडीएसएल र ५ सय ४४ फाइवर इन्टरनेटका ग्राहक रहेको नेपाल टेलिकम गुल्मीका सूचना अधिकारी शंकर सुवेदीले जानकारी दिए ।
गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याउने उद्देश्यले सरकारले सुरु गरेको अभियानमा निजी स्तरका इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि हातेमालो गरेका छन् । जिल्लामा वेभ सरर्फर ३८ सय, डिसहोम ३ हजार, वर्ल्डलिंक २६ सय, टेकमाइन्ड १ हजार ५ सय ८० र सुविसु इन्टरनेट ८ सय ५३ जना उपभोक्ताले जडान गरेको टेकमाइन्डका लुम्बिनी प्रदेश संयोजक महेश गैरेले जानकारी दिए । खरले छाएका जोखिमपूर्ण घरहरू लगभग नदेखिने गुल्मीमा पालिका केन्द्र र मुख्य चोकहरूमा पक्की घर धमाधम बनिरहेका छन् ।
स्थानीय तहहरूले खरका छानामुक्त अभियान नै सञ्चालन गरेर जनताका घर छाउन जस्तापाता उपलब्ध गराएका छन् । यसबाट पानी चुहिने, बर्सेनि छाउनुपर्ने र आगलागीको डरलगायतका समस्याबाट मुक्त भएको मालिका गाउँपालिका–४ की ७१ वर्षीया कुमती बुढाले बताइन् ।
बिजुली बत्ती भएकाले दियालो, टुकी बाल्नुपर्ने समस्या छैन । रातको समयमा गाउँहरू सहरजस्तै झलमल्ल देखिन्छन् । जिल्लामा सरकारी तहबाट ३१ हजार ७ सय ७५ घर, व्यापारिक १ सय ३१, गैरव्यापारिक ३ सय ५२, औद्योगिक ३ सय ९३, मन्दिर १ सय १, खानेपानी १ सय ४५, सडक बत्ती ३१, सिँचाइ १५ र मनोरञ्जन एउटा, नन डोमेस्टिक ७ वटा गरी ३२ हजार ९ सय ५१ ग्राहक छन् ।
त्यस्तै सामुदायिक विद्युतीकरणबाट ३० हजार ग्राहकले बिजुली बालेका छन् । गाउँका जनता टेलिभिजन र इन्टरनेट जोडेर समाचार हेर्ने तथा मनोरञ्जन लिने गर्छन् ।
कुटानी पिसानी, फर्निचर, टपरी बनाउनेलगायतका स–साना उद्योग गाउँमै छन् । गाउँमा एक घर एक धारा अभियान तीव्र रूपमा चलेको छ । धेरै घरमा मिटरजडित धारा छन् । पानी नभएको बस्तीमा पनि ग्राभिटी वा लिफ्टिङ प्रणालीबाट पानी पुर्याउने क्रम जारी रहेको स्थानीय तहहरू बताउँछन् । शिक्षाकै लागि युवा तथा विद्यार्थीहरू बाहिरिने क्रम बढेपछि प्राविधिक शिक्षालयहरूको स्थापनाको क्रम पनि बढेको छ ।
गुल्मीका १६ माध्यमिक विद्यालयमै प्राविधिक विषय अध्ययन हुन्छ, जसमध्ये १३ विद्यालयमा सरकारी अनुदानमा निःशुल्क र अन्य तीन विद्यालयमा निजी स्रोतबाट प्राविधिक विषय पढाइ हुन्छ ।
सरकारी अनुदानमा उदय मावि चन्द्रकोट, पाञ्चायन मावि धुर्कोट, हिमालय मावि हस्तीचौर, जनबोध मावि रुरुक्षेत्र, आत्मबोध मावि छत्रकोटमा कृषि, पृथ्वी मावि मदाने, मालिका मावि मालिका, दुर्गाभवन मावि कालिगण्डकी, म्यालपोखरी मावि गौडाकोटमा भेटेरेनरी, जनज्योति मावि रिमुवा, रेसुंगा मावि तम्घास, महेन्द्र आदर्श मावि मुसिकोटमा सिभिल इन्जिनियर र सरस्वती मावि सत्यवतीमा कम्प्युटर शिक्षा अध्ययन हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।
‘यी १३ विद्यालयमा आठवटासम्म प्राविधिक दरबन्दी दिएर प्राविधिक धार चलाइएको छ,’ उनले भने, ‘यसबाहेक निजी स्रोतबाट त्रिभुवन मावि कुर्घा र सिद्धबामा मावि तम्घासले कम्प्युटर अनि उपल्लो तम्घास माविले बाली विज्ञान अध्ययापन गराएका छन् । त्यसबाहेक २ वटा प्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा खुलेका छन् ।
जसमध्ये जीवराज आश्रित बहुप्राविधिक शिक्षालय इस्मामा नापी सर्वेक्षक र तुराङ बहुप्राविधिक शिक्षालय चन्द्रकोटमा कृषि प्राविधिक विषयको डिप्लोमा तहको अध्ययन हुने गरेको छ । कृषिमा पनि गाउँमा नयाँ प्रविधि भित्रिएको छ । खेतबारी जोत्न हाते ट्र्याक्टर प्रयोग गर्नेहरू धमाधम बढ्दै छन् । केही ठाउँमा धान रोप्न र काट्ने मेसिन पनि भित्रिसकेको गुल्मीमा धान झार्न थ्रेसर मेसिनको प्रयोग सामान्य हुन थाल्यो ।
बडीगाड, छल्दी, निस्ती र पनाहा खोलाको आसपासमा रहेका ठूला फाँटमा प्रायः किसान थ्रेसर मेसिनबाटै धान झार्ने गरेको कृषि ज्ञान केन्द्र प्रम्खु नवराज भण्डारीले बताए । फलफूल तथा तरकारी भण्डारणका लागि कोल्ड स्टोर बन्ने क्रममा छन् । समग्रमा कृषि प्रविधिमैत्री बन्न थालेको भण्डारीको भनाइ छ ।
‘हामीले एक वर्षमा मात्रै ३२ वटा धानरकोदो चुट्ने थ्रेसर, ३ सय १२ वटा मिनी ट्रिलर र चारवटा पावर ट्रिलर, ५ सय ३४ न्यापसाप स्प्रेसर र २५ वटा पावर स्प्रेयर, ७५ वटा डिजिटल काँटा वितरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तहबाट पनि कृषिमा यान्त्रिकीकरणका लागि काम गरिरहेकाले कृषि प्रविधिमैत्री हुँदै छ ।’
उनका अनुसार गुल्मीमा वार्षिक तरकारी, फलफूल र खाद्यान्न गरी वार्षिक ७२ करोड ७३ लाख बराबरको कृंषि उपज उत्पादन हुन्छ । छोटो समयमा यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत् क्षेत्रमा मारेको फड्को र खानेपानी, कृषि, पशुपालनमा भित्रिएको प्रविधि र बढ्दो पर्यटनले हिजो दुर्गम मानिएका गुल्मीका गाउँहरू अहिले स्मार्ट भिलेज बनेको आभास हुन थालेको सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकका प्रकाश थापाको भनाइ छ । कान्तिपुरबाट