काठमाडौ। काठमाडौं महानगरपालिकाको खुलामञ्चमुनि तीनतले पार्किङ बनाउने निर्णयको विरोध हुन थालेको छ। महानगरको १० औं कार्यपालिका बैठकले खुलामञ्चमुनि पार्किङ बनाउन डीपीआर तयार गर्ने निर्णय गरेपछि स्थानीय र सम्पदा संरक्षणकर्मी विरोधमा उत्रिएका हुन्।
उनीहरुले महानगरलाई उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। ‘अकुपाई टुँडिखेल’ का संयोजक विजय श्रेष्ठले सम्पदा जोगाउने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने भन्दै आएका मेयरले यस्तो निर्णय गरेकोमा आश्चर्य लागेको बताए । उनले भने, ‘मेयर बालेन्द्रले राम्रो काम गर्दै आउनुभएको छ, हामीले समर्थन नै गर्दै आएका छौं। तर यो ऐतिहासिक खुलामञ्चमुनि सवारी पार्क गर्ने आइडिया कसले दियो उहाँलाई ? हामी यो ठाउँको जमिन नबिगार्न आग्रह गर्छौं ।’
महानगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहले त्रिपल बेसमेन्ट पार्किङ र रिचार्जको डीपीआर तयार पार्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए । त्यसको अध्ययन र प्राविधिक सहयोगका लागि ‘टाउन डेभलपमेन्ट फन्ड’ लाई अनुरोध गर्ने उनको प्रस्ताव छ ।
महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा खुलामञ्च नजिकैको खाली ठाउँमा पार्क बनाउने योजना समावेश गरिएको थियो । वार्षिक बजेट पुस्तिकाको सहरी यातायातसम्बन्धी नीतिको १११ नम्बर बुँदामा ‘काठमाडौंको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ’ लेखिएको छ ।
पार्किङ स्थलका लागि बहुउद्देश्यीय भवन बनाएर खुलामञ्चको विकल्प खोज्न सकिने र नेपाल वायुसेवा निगमको भवन भएको ठाउँ प्रयोगमा ल्याउन सकिने स्थानीयवासीले सुझाव दिएका छन् । यसबाहेक धरहरामा बनेको दुई तले पार्किङ स्थललाई प्रयोगमा ल्याउन सकिने सुझाव अभियानकर्मीले दिएका छन् । एनएसीलगायतका ठाउँमा बहुतले पार्किङ बनाउन सकिने उनीहरुको भनाइ छ। त्यस्ता विकल्प नहेरी सिधै खुलामञ्च ताकिएको तर आफूहरुले खुल्लामञ्चको जमिन छुन पनि नदिने उनीहरुको भनाइ छ।
यही ठाउँमा भूमिगत पार्क बनाउन केशव स्थापित मेयर भएको बेलादेखि नै प्रयास भएको हो । स्थानीयको विरोधले काम अघि बढ्न सकेन । विद्यासुन्दर शाक्य मेयर हुँदा पनि खुलामञ्चलगायत टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने चर्चा चलेको थियो। ।