काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अबको ५–६ वर्षमा नेपालमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताएका छन्। बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले चालु आर्थिक वर्ष २०७९/८० भित्रै नेपालको जलविद्युत उत्पादन क्षमता तीन हजार मेगावाट पुग्ने बताएका छन् ।
प्राधिकरण र निजी जलविद्युत प्रवर्द्धकले निर्माण गरिरहेको करिब ८०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको घिसिङले बताए ।
अहिले सुदूरपश्चिमको कालंगा गाड बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट र दोर्दी बेसिनमा निर्माण पूरा भएका ६४ मेगावाट विद्युत प्रणालीमा जोडिने अवस्था छ । यस्तै, ५७ मेगावाटको सान्जेन, १४.९ मेगावाटको माया खोला, १११ मेगावाटको रसुवागढी, ८६ मगावाटको दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ९.६ मेगावाटको दरम खोला, ४० मेगावाट क्षमताको खानी खोला–१ लगायत आयोजनाबाट विद्युत उत्पादन हुने देखिएको छ ।
उनले भने, ‘१५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ प्राधिकरणबाट राजश्व संकलन हुनेछ। सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको छ, विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको छ।’
१५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरू रहेकाले १० प्रतिशतले राजश्व बढेको पनि उनले बताए ।