खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बर उद्यानको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन्। आफ्ना दश पुस्तादेखिका पुर्खाको समाधिस्थल भत्काएर १०० फिट अग्लो किराँती प्रथम यलम्बरको कृत्रिम शालिकसहितको उद्यान निर्माण गर्न खोजिएको भन्दै उनीहरुले अवरोध गरेका हुन्।
करिब तीन हजार ५०० को हाराहारीमा किराँती पुर्खाको चिहान भएको यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटोबाट मानव कङ्काल निस्किएपछि त्यसको चौतर्फी विरोध भएको छ। ऐतिहासिकस्थलमा यलम्बरको उद्यान बन्ने भएपछि स्थानीय बासिन्दाले आफूहरु विकासविरोधी नभएको भन्दै समाधानका लागि उपयुक्त बाटो खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। रु १० करोड २७ लाखको लागतमा यलम्बर उद्यान निर्माणको काम थालिएको थियो।
यलम्बर उद्यान निर्माणस्थल पञ्चदोबाटो बुइपास्थित तम्रुङ, गैरीगाउँ, खालिङटोल, डङ्कुरा, बीचगाउँ, बरबोटलगायतका गाउँको संयुक्त समाधिस्थल भएकाले यसलाई जोगाउनुपर्ने स्थानीय बासिन्दा एवं नेकपा माओवादी केन्द्रका नेता डार्विन राईले बताए।
निर्माण व्यवसायीले यलम्बरको मूर्ति बनाउनुअघि आफूहरुसँग गरेको सहमति उल्लङ्घन गर्दै स्काभेटर लगाएर पुराना समाधि ध्वस्त पार्न थालेकाले रोक्न बाध्य भएको स्थानीयको भनाइ छ। स्थानीय र निर्माण कम्पनीबीच समाधिस्थलमा भएका चिहानको संयुक्त आत्माघर बनाउने, त्यहाँ भेटिएका पुरातात्विक वस्तुलाई सङ्ग्रहालयमा राख्नेलगायत सहमति भएको थियो।
यलम्बर उद्यान निर्माणको काममा विवाद भएपछि बुइपाका वडाध्यक्ष दिनेश राईले सहमतिअनुसार काम नभएको स्वीकार्दै अब सच्याएर निर्माणको कामलाई अगाडि बढाइने बताए। सुरुमा स्थानीय बासिन्दासँग गरेको सहमतिअनुसार काम नभएकै हो, उनले भने, सहमतिअनुसार काम नभएपछि उहाँहरूको भावनामा चोट पुगेको छ। आगामी दिनमा सच्याएर काम अघि बढाउँछौँ।
निर्माण कम्पनीले पनि अब सहमतिमै काम लाई अगाडी बढाउने प्रतिबद्धता दिएका छन्। पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बरको शालिकसहितको उद्यान चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण सुरु गरिएको थियो। निर्माणको काम सुरु गरेलगत्तै विवाद भएपछि अठार महिनाभित्र निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको काम तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ।
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर उद्यान पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको हो। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको उद्यानमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए। किराँत ऐतिहासिकस्थल बुइपामा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको उद्यान निर्माण सुरु भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीको विश्वास छ।