तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बन्ने भएको छ। ७० करोड लगानीमा निजी क्षेत्रबाट दर्शनटुप्पो बनाउन सुरु गरिएको हो।
सो दर्शनटुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सिट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
करिब १६ कठ्ठा क्षेत्रफलमा बनाइने दर्शनटुप्पोको सुरुको तलामा व्यापारिक प्रयोजन, चौथोमा सिनेमा हल, पाँचौंदेखि १३ तलासम्म होटेलको प्रबन्ध गरिने बताइएको छ । घोराही तुलसीपुर सडकखण्डदेखि तीस मिटर उत्तरतर्फ निर्माण गर्न थालिएको दर्शनटुप्पोको चौथो तलामा स्वीमिङपुलसमेत रहनेछ । प्राविधिक डिजाइन गर्नुभएका इन्जिनियर सुरज मल्लका अनुसार यो दर्शन टुप्पोको उचाइ ५३.६ मिटर रहनेछ ।
व्यापारिक घराना प्रकाश आचार्यको समूहले निर्माण गर्न थालेको यस दर्शनटुप्पोको नाम राउन्टे एण्ड यार्सा राखिएको छ । पर्यटन मन्त्रालयकै मापदण्ड बमोजिम निर्माण गर्न थालिएको छ । उक्त दर्शनटुप्पोमा रहेका व्यापारिक, सिनेमा हलका कोठा अपाङ्गमैत्री रहने बताइएको छ ।
दर्शनटुप्पोको अन्तिम तलामा पुग्नका लागि छुट्टै लिफ्टको व्यवस्थापन गरिएको छ भने सुरुको तलादेखि नै अन्तिम तलामा पुग्ने क्रममा सिसाबाट दाङ उपत्यकाको दृश्यावलोकन गर्न सकिने प्रबन्ध गरिएको छ ।
जिल्लामा पर्यटकहरुलाई आकर्षित गर्नका लागि दर्शनटुप्पो निर्माण गर्न थालिएको बताइएको छ । मनोरञ्जन, किनमेल र अवलोकन प्रयोजनका लागि निर्माण गर्न थालिएको यस दर्शनटुप्पोमा पुग्नका लागि छ वटा लिफ्टको प्रयोग गरिने भएको छ ।