पाँचथर। गत कात्तिक १ गतदेखि ३ गतेसम्म निरन्तर परेको वर्षाले मिक्लाजुङ गाउँपालिकाको सयौं स्थानमा पहिरो झरेको छ। बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको हो।जताततै पहिरो झर्नाका साथै खोला तथा खोल्सीमा बाढी आएर मानवीय तथा भौतिक क्षति पनि पुर्याएको छ। पहिराका कारण गाउँपालिकाको वडा नं ५ र ७ को स्वरूप नै बदलिएको छ। खेतीयोग्य जमिन भीर, पाखो र बगर बनेका छन्। सयौं घरमा क्षति पुगेको छ। भूकम्पले जस्तै पहिराले जमिन क्षतविक्षत हुँदा स्थानीयबासी कहाँ जाने भन्ने चिन्तामा छन्। बाँकी छ वडामा पनि पहिराले क्षति पुर्याएको छ।
गाउँपालिकाका अध्यक्षका अनुसार पहिराबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन। यस ठाउँको हजारौं घर, गोठमा पूर्ण वा आंशिक क्षति भएको साथै स्थानीयबासीका खेतबारीमा लगाइएको बाली नष्ट भएसँगै ती ठाउँ भविष्यमा खेती लगाउन नमिल्ने भएको छ। सडक, खानेपानी, विद्युत, सिँचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण हालसम्म पनि वडाले तयार पार्न सकेको छैन।
पहिराले गाउँपालिकाभित्रका अधिकांश सडक पनि क्षतविक्षत बनाएको छ। राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरा झर्दा सडक खुलाउन हप्तौं लाग्नसक्ने अवस्था सीर्जना भएको छ। विद्युतका पोल तथा तार बाढीले बगाएर खोलामा पुर्याएको छ भने कतिपय सिँचाइ कुलोको नाम निशान नै मेटिएको छ।
त्यस्तै बाढी र पहिराका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनाका साथै तीन जना अझैसम्म बेपत्ता छन्। बाढी र पहिराले विस्थापित बनेका सयौं स्थानीयबासी छरछिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन्। घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार भएकाहरू जोखिमयुक्त स्थानमा बनेर अन्यौलमा दिन काटिरहेका छन्।
पहिराका कारण गाउँको संरचनामै परिवर्तन भएको वडा नं. ५ का स्थानीयबासीको भनाई रहेको छ। यस वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हुने उनिहरुले बताएका छन्। त्यस्तै आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनको विकल्प आफूहरूले पाउन नसकेको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालले जानकारी गराएकी छिन्।
बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा गाउँपालिकाको अध्यक्ष दुःखी भएका छन्। विद्युत, बाटो, खानेपानी अवरूद्ध रहेको साथै अधिकांश संरचनाको पुनर्निर्माण अत्यावश्यक भए पनि ठोस सहयोग पाउन नसकेका उनले गुनासो गरेका छन्। गत कात्तिक ७ गते प्रधानमन्त्रीले यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिएका थिए तर दुई सातासम्म सरकारी उपस्थितिबिना जीवन गुजार्नुपर्दा पीडित निराश भएका छन्।