काठमाडौं। धादिङ जिल्लाको खनियाबास गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती गाउँपालिकाको सिमाना भई बग्ने आँखुखोलामा आँखुखोला–२ जलविद्युत आयोजना निर्माण हुने भएको छ।
गणेश हिमाल हाइड्रो पावर प्रालीले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको छ। कम्पनीका अनुसार विभागबाट अनुमति पाउने लगतै आयोजना निर्माणको काम सुरु गरिने छ ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालासँग राय सुझाव माग गरेको छ । विभाले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ ।
नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २७.७३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२२.१६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनाको मुख्य संरचनाहरु आँखु खोलाको दायाँ किनारामा पर्दछन् । आँखुखोलामा बाँध बाधी खोलाको दायाँपटिट् निर्माण हुने इन्टेक पाइपबाट पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै विद्युत गृहमा लगिनेछ ।
विद्युत गृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ र ५ किलोमिटर लामो ११ केभीको प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणका प्रस्तावित लपाङ सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
आयोजनबाट २०८३ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण गर्दा भु–क्षय, वायु, प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय असार नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।