बर्दिया। बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पुर्याउने उद्देश्यले सुरू गरिएको राष्ट्रिय गौरवको बबई सिँचाई आयोजनाको निर्माण तोकिएको अवधिमा नसकिने भएको छ। आर्थिक वर्ष २०४५/४६ बाट सुरू भएको यो आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र सक्ने लक्ष्य छ। तर आयोजनाको समष्टिगत प्रगती हेर्दा लक्षित अवधिमा सकिने अवस्था देखिँदैन।
गत असार मसान्तसम्म आयोजनाको समष्टिगत वित्तीय प्रगती ५८.८४ मात्रै भएको छ। यो अवधिमा भौतिक प्रगति ६२.२३ प्रतिशत भएको छ। आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना कम रहेको बताए।
'धेरै काम बाँकी छ। लक्षित अवधिमा सक्न मुस्किल छ। अब समय थप्नुपर्ने नै हुन्छ। तर कति समय थपिन्छ र कहिले सकिन्छ भनेर अहिले भन्न सकिँदैन,' उनले भने।
कोभिड, प्राकृतिक प्रकोप लगायत विभिन्न कारणले आयोजना समयमै सक्न मुस्किल भएको उनको भनाइ छ। त्यस्तै महँगी बढ्दा समेत आयोजना प्रभावित भएको उनले बताए। 'निर्माण सामग्रीहरूको मूल्य अत्याधिक चर्कियो। यस्तो अवस्थामा निर्माण कम्पनीहरूले काम पनि रोक्ने स्थिति आयो जसले गर्दा पनि निर्माणमा केही ढिलाइ भयो,' उनले भने।
बर्दियाको कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सुरू गरिएको यो आयोजनाको कुल लागत १८ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाले २०४५ सालदेखि गत असार मसान्तसम्म खर्च ११ अर्ब १५ करोड ७९ लाख १६ हजार रुपैयाँ अर्थात् ५९.५६ प्रतिशत खर्च गरिसकेको जनाएको छ।
अनुमानित लागतले पुग्छ वा पुग्दैन भन्ने विषयमा पनि आयोजना स्पष्ट छैन। सूचना अधिकारी घोरासैनी निर्माण समाग्रीको मूल्य आकाशिएकाले अनुमानित लागतभन्दा बढी पनि लाग्न सक्ने बताउँछन्। 'हामीले यसमा पनि त्यति रकमले पुग्छ वा पुग्दैन भनेर अहिल्यै भन्न सकिँदैन,' उनले भने।
सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) को सहयोगमा यो आयोजनाको अध्ययन २०२४ सालदेखि सुरू गरेको थियो। यसको अर्को उद्देश्य जलस्रोतमा माथिल्लो तटीय अधिकार स्थापित गर्नु पनि थियो।
संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा यो आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरिएको थियो। उक्त प्रतिवेदनमा बबई नदीभन्दा पूर्वमा करिब १९ हजार हेक्टर र पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइयोग्य बनाउन सकिने उल्लेख छ।
पहिलो चरणमा पूर्वतर्फको १३ हजार २४० हेक्टर जमिनमा सिँचाइ प्रणालीको विकास गर्ने उद्देश्यले २०३५ सालमा उक्त क्षेत्रको सम्भाव्यता अध्ययन गरिएको थियो।
अन्तर्राष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा पहिलो चरणमा २०३८ सालदेखि २०४० सालसम्म विस्तृत इन्जिनियरिङ डिजाइनको काम सकिएको थियो। उक्त डिजाइनमा बबई नदीमा साइफन निर्माण गरी पश्चिमतर्फ सिँचाई प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो।
विश्व बैंकको ऋण सहयोग प्राप्त नहुने भएपछि बर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य रहेको बबई सिँचाइ आयोजनाको निर्माण आर्थिक वर्ष २०४५/४६ सालदेखि सरकारको आफ्नै स्रोतबाट प्राथमिकतामा राखि सुरू गरिएको हो।
तर, त्यसवेला बजेट अभावका कारण आयोजना निर्माणले गति लिन सकेन। पछि २०४९ सालमा आयोजनाको पहिलो चरण अन्तर्गत राजमार्गमा पुलसहित बाँध निर्माण काम ६७ करोड ९५ लाख लागतमा निर्माण गरियो।
२०५० सालमा मुल नहरको सुरूको खण्ड ५.५ किलोमिटर सकिएको थियो। त्यसपछि आयोजनाको प्रथम चरणको बाँकी काम पूरा गर्न कुवेत कोषबाट ऋण सहयोग लिने सम्बन्धी प्रकृया अगाडि बढाइएको थियो। तर कुवेतबाट ऋणको प्रकृया अघि बढेन।
त्यसपछि राष्ट्रिय अभियानका रूपमा आयोजनाको मुल नहरको बाँकी काम सक्ने लक्ष्य राखि २०५१ सालमा विशेष कार्य योजना सञ्चालन गरिएको थियो। जसअन्तर्गत करिब २८ किमी लम्बाई बबई मुल नहरको बाँकी २२.५ किलोमिटर सम्मको निर्माण काम २०५८ सालमा सकियो।
दोस्रो चरणको काम सुरू गर्ने उद्देश्यले २०५८ सालमा परामर्शदाता इस्ट कन्सल्ट प्रालि, बिडिए नेपाल प्रालिमार्फत् बबई नदीमा साइफनसहित अन्य संरचनाहरूको विस्तृत इन्जिनियरिङ डिजाइन काम गरिएको थियो।
साइफन, ढोढरी नहर तथा नहर संरचनाहरूको निर्माण कार्य आर्थिक वर्ष २०६७/६८ मा सुरू भई आर्थिक वर्ष २०६९/७० मा करिब ४४ करोड २४ लाख लागतमा सम्पन्न गर्ने लक्ष्य थियो। सरकारले ०६९/७० मा बबई सिँचाइलाई राष्ट्रिय गौरवको आयोजनामा राख्यो। त्यसपछि भने आयोजनामा विनियोजन हुने बजेटको आकार बढ्यो।
त्यसपछि साइफन तथा लिंक नहर र अन्य नहर संरचनाहरूको निर्माण प्रकृया अघि बढ्यो।
२०७१ साल साउन १८ देखि ३० गतेसम्मको बाढीले फेरि त्यहाँ बनेका संरचनाहरू क्षतिग्रस्त बनायो। साइफन २०७३ को असार सम्ममा पुनः निर्माण भई हाल नहर सञ्चालन भइरहेको आयोजनाले बताएको छ। आयोजनाका अनुसार हालसम्म आयोजनाको ८०.२८ किलोमिटर मुल नहर बनिसकेको छ।
शाखा नहर २३५.६७ किमी बनेको छ। बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण कार्य २५.२५ किमी सकिएको सूचना अधिकारी घोरासैनीले बताए। साइफन तथा नहर संरचनाहरूको निर्माण कार्य भइरहेको पनि उनले बताए। हालसम्म ३६ हजार हेक्टर जमिनमध्ये आयोजनाका संरचनाले २३ हजार ६ सय हेक्टर जमिनमा १२ महिनै सिँचाई पुगेको उनले बताए।
सरकारले यस आयोजनाको निर्माण गर्न संरचनाअनुसार छुट्टाछुट्टै ठेक्का लगाएको छ। स्वदेशी कम्पनीहरूले नै यो आयोजना निर्माण गरिरहेका छन्। निर्माण समयमै सकिने गरी काम भइरहे पनि कोभिड लगायत विभिन्न कारणले बाधा पर्दा आयोजना समयभन्दा पछाडि धकेलिने अवस्थामा पुगेको बताइएको छ। सेताेपाटिबाट