सिन्धुली। हाल पिउने पानीको अभाव खेपिरहेका सिन्धुलीको सुनकोसी गाउँपालिकाका ४५ गाउँबस्तीका करिब दुई हजार पाँच सय घरमा सुनकोसीको पानी पुर्याउने लक्ष्यसहित खानेपानी परियोजना अगाडि बढाइएको छ। सङ्घीय सरकारको करिब ४९ करोड लगानीमा निर्माण गरिने सो परियोजना सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सञ्चालन गरिने भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मन्थलीका प्रमुखका अनुसार परियोजनाको अन्तिम लागत अनुमान तयार भई विभागमा पेस गरिसकेको छ।
दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्भवतः मङ्सिरसम्ममा परियोजनाको टेन्डर प्रक्रिया सुरु हुने प्रमुखले जानकारी दिएका छन्। निर्माण सम्पन्नपछि एक वर्षसम्म सो परियोजनाको सञ्चालन, मर्मत निर्माण कम्पनीले नै गर्नेछ। सो परियोजनाबाट सुनकोसी गाउँपालिका वडा नम्बर ५ र ६ का दुई हजार ४८० घरमा धारा जडान गरिने प्रमुखले बताएका छन्। यस खानेपानी परियोजनामा स्थानीय जनश्रम व्यवस्थापन र सहयोगका लागि नागेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समूह गठन गरिएको छ।
यस खानेपानी परियोजना सञ्चालनको प्रक्रिया अगाडि बढेसँगै सुनकोसीको पानी पिउने सपना पूरा हुन्छ कि भन्ने स्थानीयवासीमाआशा पलाएको छ। त्यस्तै गाउँलेले सुनकोसीको पानी तानेर गाउँमा धारा बन्ला त भन्ने कुरामा आशङ्का पनि राखेका छन्। सुनकोसीको पानी तानेर डाँडा डाँडाका सुक्खा बस्तीमा वितरण गर्ने परियोजना सञ्चालनको खबरबाट सबैभन्दा बढी महिला नै खुसी भएका छन्। यस परियोजना ठूलो भएकाले निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तरीय कामका लागि स्थानीय उपभोक्ताले समेत साथ, सहयोग र निगरानीमा ध्यान दिनुपर्ने त्यहाँको एक स्थानीय शिक्षिकाको भनाई रहेको छ।
त्यहकिो एक स्थानीयले सुनकोसी क्षेत्रमा हरेक वर्ष सुक्खा लाग्ने र डाँडापाखाका पानीका मुहान सुक्ने भएकाले प्रायः पानीको समस्या भइनै रहने जानकारी गराएका छन्। खानेपानीका मुहान सुक्दा कतिपय गाउँवासीले एक खेपको तीन हजार रुपियाँसम्म तिरेर सुनकोसीको पानी ढुवानी गरेर उपभोग गर्दै आएको उनलेले बताएका छन्। लामो प्रयासपछि सुनकोसीका सुक्खाग्रस्त गाउँमा पानी पुर्याउने परियोजना सुनिश्चित भएकाले सबैको साथ र सहयोगले मात्रै यस परियोजना सफल हुने जनाइएको छ। सुनकोसी गाउँपालिका अध्यक्षले यस परियोजना सञ्चालनमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
विस्तृत परियोजना प्रतिवेदन तयार पार्न आर्थिक वर्ष २०७५/७६ मा एक करोड रुपियाँ बजेट निकासा भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा छ करोड ९० लाख र यस आर्थिक वर्षमा आठ करोड रुपियाँ बजेट निकासा भएको स्थानीय प्रमोद दाहालले जानकारी गराएका छन्। सो परियोजनामा सुनकोसीका खाल्टेको गड्यौली खोलामा र मुल्कोटमा गरी दुई स्थानमा इनार निर्माण गरी पानी निकालिने छ। सो पानीलाई पम्पमार्फत करिब एक हजार १५० मिटर उचाइमा पुर्याएर गाउँगाउँमा वितरण गरिने योजना रहेको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाबाट सो परियोजना अगाडि बढाइएको हो। त्यसैले सोअन्तर्गतका परियोजनामा ९० प्रतिशत लागत नेपाल सरकार र १० प्रतिशत जनसहभागिता रहनेछ। १० प्रतिशत सहभागितामध्ये पनि उपभोक्ताले एक प्रतिशत अग्रिम नगद जम्मा गर्नुपर्ने साथै जग्गा व्यवस्थापन, संरचना निर्माण, पाइप पुर्ने र धारा जडान गर्नेलगायत कार्यमा ९ प्रतिशत श्रमदान गर्नुपर्ने योजना रहेको छ।