काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गतको ४०० केभी उच्च क्षमताको प्रसारण लाइन परियोजना निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले एमसीसीको ‘प्रोग्राम प्राक्युरमेन्ट गाइडलाइन’ बमोजिम ३१५ किलोमिटर लामो प्रसारण लाइन परियोजना र उच्च क्षमताका ३ सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
पूर्व निर्धारित योजना अनुसार नै ३ वटा प्याकेजमा प्रसारण लाइन परियोजनाको काम सम्पन्न गर्न ठेक्का आह्वान गरिएको एमसीए–नेपालले जनाएको छ । एमसीए–नेपालका अनुसार पहिलो प्याकेज अन्तर्गत एमसीसी कम्प्याक्टको अनुदानमा निर्माण हुने लप्सीफेदी–रातमाटे–हेटौंडा खण्डमा पर्ने ११७ किलोमिटर प्रसारण लाइनको ठेक्का आह्वान गरिएको छ ।
यस्तै, दोस्रो प्याकेज अन्तर्गत नुवाकोटको रातमाटेदेखि न्यू दमौलीसम्मको ९० किलोमिटर तथा तेस्रो प्याकेज अन्तर्गत न्यू दमौलीदेखि –न्यू बुटवलसम्म पर्ने अर्को ९० किलोमिटर खण्डको ठेक्का आह्वान गरिएको छ । प्रसारण लाइन परियोजना अन्तर्गत ३ वटा ४०० केभी सबस्टेसन पनि निर्माण हुनेछन् ।
अहिले नेपाल विद्युत प्राधिकरणले निर्माण गरी सञ्चालनमा ल्याएको २२०र१३२ केभी न्यू बुटवल सबस्टेसन नजिकै अर्को ४०० केभी सबस्टेसन निर्माण गरिनेछ । न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तथा न्यू बुलवल सबस्टेसन निर्माणको ठेक्का पाउने निर्माण व्यवसायीले नै सबस्टेसनदेखि भारतको गोरखपुरसम्म प्रस्तावित २० किलोमिटर प्रसारण लाइन बनाउने विकल्प राखेर ठेक्का आह्वान गरिएको छ ।
एमसीसी कम्प्याक्टको प्रसारण लाइन परियोजनाा कार्यान्वयन हुन समय लागेका कारण लागतमा वृद्धि भएपछि तत्कालका लागि बुटवल–गोरखपुर खण्डलाई विकल्पमा राखेर ठेक्का आह्वान गरिएको एमसीए–नेपालले जनाएको छ ।
ठेक्का प्रक्रियामा अमेरिकाले कालोसूचीमा राखेका इरान, इराक, उत्तर कोरिया बाहेकका मुलुकले प्रतिस्पर्धा गर्न सक्नेछन् । ठेक्का आह्वान भएको मितिले सबै प्रक्रिया पूरा भई निर्माण व्यवसायी छनोट कार्य सम्पन्न हुन ६ महिना लाग्नेछ ।
निर्माण व्यवसायी छनोट प्रक्रिया पूरा गरी २०८० साल भदौ (अगष्ट,२०२३) देखि प्रसारण लाइन परियोजनाको संरचना निर्माण गर्न सुरु गर्ने तालिका छ । संरचना निर्माण सुरु गरेको ५ वर्षभित्रमा प्रसारण लाइन परियोजना सम्पन्न गरिसक्नु पर्नेछ ।
प्रसारण लाइनको संरचना निर्माणको काम सुरु गर्नुअघि अहिले प्रारम्भिक चरणका कामहरू भइरहेको एमसीए–नेपालले जनाएको छ । अहिले आवश्यक जग्गा प्राप्ति, रुख कटान, निर्माण क्षेत्रमा पहुँच लगायतका कामहरू भइरहेका छन् ।
प्रसारण लाइन निर्माण गर्दा दायाँ र बायाँ गरी दुवैतर्फ २३–२३ मिटर जग्गा छोडिनेछ । प्रसारण लाइनको एउटा टावर निर्माणका लागि १ रोपनी जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । प्रसारण लाइन अन्तर्गत ७ सय ५४ वटा टावर निर्माण हुनेछन् ।
यो परियोजना कार्यान्वयन गर्नका लागि अमेरिकाको एमसीसीेले ५० करोड र नेपाल सरकारले १३ करोड अमेरिकी डलर गरी ६३ करोड डलर खर्च गर्ने सम्झौता भएको छ ।