काठमाडौं। काँकडभिट्टा–लौकही सडक निर्माण गर्दा ६ वटा आर्कब्रिज निर्माण गर्नुपर्ने हुन्छ। निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा नदिनमा पुल निर्माण गर्नुपर्ने हुन्छ।
पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई लगायत प्रमुख पुलहरु र दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ।
दुई प्याकेजको पुल निर्माणमा लगभग १२ अर्ब लागत अनुमान गरिएको छ। एउटा पुल निर्माण गर्न लगभग २ अर्ब रुपैयाँ लाग्ने छ। एउटा प्याकेजमा ३ वटा पुल छन्।
६ वटै पुल ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुनेछ। यी पुलको लम्बाई ३ सय १८ मिटरदेखि ७ सय ३ मिटरसम्म हुनेछ। जसमा निन्दा पुल ३१८ मिटर, बिरिङ ३९८ मिटर, कन्काई ७०३ मिटर, रतुवा ५८२ मिटर, बक्राहा ३१८ र लोहन्द्रा पुल ३८४ मिटर लम्बाइका हुनेछन्।
यो सडकमा १० वटा आकाशे पुल र साना खालका अन्डरपास २० वटा निर्माण हुने डिजाइनमा छ।
यो आयोजना सडक विभाग, आयोजना निर्देशनालय एडीबी सासेक हाईवे इम्प्रुभमेन्ट प्रोजेक्टप्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित छ। यो सडक एसियाली मापदण्डको हुनेछ।