पाल्पा। उद्योग वाणिज्य संघ पाल्पाको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा ६ सय ४१ मत प्राप्त गर्दै भट्टराई निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राजीव श्रेष्ठले २ सय १ मत पाए । कुल १ हजार ५५ सदस्य रहेको पाल्पा उद्योग वाणिज्य संघमा ८ सय ४५ मत खसेको थियो । तीन मत बदर भएको निर्वाचन अधिकृत टंकप्रसाद भट्टराईले बताए ।
अध्यक्षमा निर्वाचित भट्टराई १५ वर्षदेखि निरन्तर उद्योग वाणिज्य संघमा कार्यरत छन् ।
संघको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य १ सय ७ मत ल्याएर निर्वाचित भएका छन् । संघको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध भएका छन् । सोमबार भएको क्षेत्र नम्बर ११ को निर्वाचनबाट सदस्यमा कमल पाण्डे र लक्ष्मण बस्याल विजयी भए ।
यस्तै क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ मा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई सदस्यमा नारायण पछाई र मञ्जु रेग्मी, क्षेत्र ५ मा विनायक महर्जन र किशोरदर्शन बज्राचार्य निर्विरोध भएका छन् ।
क्षेत्र ६ मा लक्ष्मणप्रसाद रेग्मी र अमनप्रसाद श्रेष्ठ, क्षेत्र ७ मा सविन मल्ल र महेश शर्मा आचार्य निर्विरोध भए । क्षेत्र ८ मा रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र ९ मा समिरमान सिंह, क्षेत्र १० मा विदुर घिमिरे र सुरेश गोदार निर्विरोध भए । क्षेत्र १२ मा दीपक घिमिरे र मुक्तिराम जीसी र क्षेत्र १३ मा समता मियाँ निर्विरोध भएका छन् ।