काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशका जिल्लाहरूमा करिब ४००० मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
प्राधिकरणले सन् २०५० भित्र प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरू निर्माण गरिने छन्। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभी क्षमतामा सञ्चालन हुने गरी लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरूको निर्माण गरिनेछ। अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने काम भइरहेको छ।
बारा, बर्सा औद्योगिक कोरिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी लाइन निर्माण गरिनेछ। यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको प्रदेशका जिल्लाहरूमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुनेछ ।
लाइन तथा सबस्टेसनहरू निर्माण गर्न ५० अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको छ । यो रकम नेपाल सरकार तथा प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।