काठमाडौं। काँकडभिट्टा–लौकही सडक विस्तारका क्रममा तीन सय ६७ घरधुरीको तीन सय ७७ वटा निजी संरचनाहरुमा प्रत्यक्ष असर पर्ने देखिएको छ। ठेक्का प्रक्रिया चलिरहेको उक्त सडक विस्तार गर्दा निजी संरचनासहित दुई सय ६९ वटा सामुदायिक संरचनामा पनि असर पर्ने देखिएको छ।
त्यसैगरी एक सय ४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० वटा प्रहरी चौकीलगायतका संरचनामा पनि असर पर्नेछ। यसैगरी यो आयोजनामा वन क्षेत्रबाट ४ हजार ३५३ र अन्य रोड साइडबाट ८ हजार १९५ वटा रुख काट्नु पर्नेछ।
उक्त सडक विस्तारका लागि विभिन्न प्याकेजमा ठेक्का आह्वान गरी प्रक्रिया अघि बढिसकेको छ। चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुने सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५/२५ मिटर हुने छ। आवश्यकता अनुसार सडकमा ६ वटा पुल हुनेछ।
यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ। यो सडकमा चिया बगान, कृषि जमिन र वन समेत पर्छ। सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोसी राजमार्गलाई जोडेको छ।
काँकडभिट्टा–लौकही राजमार्गले ७१ वटा खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप पुल रहेका छन्। सर्भिस रोड पनि दुवै साइडमा निर्माण गरिनेछ। सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ पुल, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन्।
सडक बनाउँदा निर्माण कम्पनीले निर्माण सामाग्री स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने सर्त राखिएको छ। सडक निर्माणका बेला १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ।
आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ। यो सडक परियोजनाबाट १२ लाखभन्दा जनसंख्या लाभान्वित हुनेछन्।