काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । समुदायको अगुवाईमा चन्दा जुटाएर सङ्ग्रहालय निर्माण गरिएको हो।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो ।
सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मंगलबार उद्घाटन गरेकी हुन् । करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार छ । सङ्ग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगत रूपमा ८१ लाख ८३ हजार एक सय ३८ रुपैयाँ सहयोग जुटेको र ८० लाख ३९ हजार तीन सय ४५ रुपैयाँ खर्च भएको करबाकेली संरक्षण समितिले जनाएको छ।
“संग्रहालय निर्माणमा अन्नपूर्ण गाउँपालिकाले सात लाख रुपैयाँ र प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्, अरु रकम स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको थियो ।” परम्परागत जीवनशैलीका रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर सङ्ग्रहालयमा राखिएको बताइएको छ।
परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरिएको समितिले जनाएको छ। ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित संग्रहालय तयार भएको बताएको छ।
समुन्द्री सहतदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ ।