काठमाडौं। भोजपुरमा अस्पताल निर्माणको काम शिलान्यासमै सिमित भएको छ। सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पतालहरुको शिलान्यास गरेको भएपनि कामको प्रगति भने न्यून रहेको छ।
नेपाल सरकारले २०७७ मंसिर १५ गते कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस भन्ने उद्देश्यले भोजपुरका ९ ओटा स्थानीय तहमध्ये ७ ओटा स्थानीय तहहरुमा ५ देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेको थियो। शिलान्यास गरेका अधिकांश अस्पतालहरु शिलान्यासमै सिमित भएका छन्। जसले गर्दा ग्रामिण भेगका सर्वसाधारण बढी मार्कामा परेका छन्।
सात ओटा मध्ये पाँच ओटा अस्पतालको टेण्डर प्रक्रिया सम्पन्न भएर काम शुरु भई सकेको छ। पाँच वटा अस्पतालमा पौवादुङमा गाउँपालिका,साल्पासिलिछो गाउँपालिका,आमचोक गाउँपालिका,हतुवागढी गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु भइसकेको छ भने, अरुण गाउँपालिकाले कात्तिक १४ गते टेण्डर खुलाउने जानकारी दिएको छ। रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अस्थामा रहेको छ।
अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको थियो। अस्पताल निर्माण पश्चात आधारभुत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको भनाइ छ।
जिल्लामा ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३ सहरी स्वास्थ केन्द्र, ७ सामुदायिक स्वास्य ईकाई ७ र १ जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए। स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि केन्द्र सरकारले हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख थापाले बताए।