काठमाडौं। यातायात प्रणालीलाई प्रभावकारी बनाउनको लागि विज्ञहरुले विभिन्न किसिमका उपायहरु सुझाएका छन्।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्काफ) नेपालले बिहीबार आयोजना गरेको ‘डिजास्टर रिजिलियण्ट एण्ड सस्टेनेवल इन्फ्रास्ट्रचर फर बेटर फ्युचर’ नामक राष्ट्रिय सम्मेलनमा विज्ञहरुले यातायात पूर्वाधारलाई प्रभावकारी बनाउने उपायहरु प्रस्तुत गरेका हुन्।
यातायात प्रणालीलाई प्रभावकारी बनाउनको लागि वैकल्पिक रुट र सडकको उपलब्धता सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने उनीहरुको भनाइ छ। त्यस्तै, यातयात व्यवस्थित गर्न राजनीतिक अर्थतन्त्र महत्वपूर्ण विषयको रूपमा रहेको छ ।
अहिले राजनीतिक शक्तिको आधारमा यातायात पूर्वाधारले प्राथमिकिरण पाउने गरेको छ तर नयाँ सडक निर्माण गर्दा त्यसको मर्मतको बारे भने नसोचिने विज्ञहरुको भनाइ छ। अर्कोतर्फ यातायातका पूर्वाधारहरु आधा मात्र बनाएर छोड्ने प्रवृत्तिमा पनि सुधार ल्याउनु आवश्यक रहेको उनीहरुले बताएका छन्।
सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्ने हो भने जति स्रोत उपलब्ध छ, त्यति मात्र सडक निर्माण गरे राम्रो हुने विज्ञहरुको सुझाव छ । त्यस्तै, अबका दिनमा अनिवार्य रुपमा जलवायु परिवर्तन प्रतिरोधी निर्देशिकाहरु तयार गरी कार्यान्वयन गर्नुपर्ने समेत उनीहरुले बताए ।
अर्कोतर्फ छरिएर रहेका बस्तीलाई व्यवस्थित रुपमा एकिकृत गर्नुपर्नेछ । त्यस्तै, सडक विभाग, यातायात व्यवस्था विभाग र स्थानीय सरकारलाई सबल बनाउनाले पनि यातायात पूर्वाधार सुधारमा ठूलो योगदान पुर्याउने उनीको बुझाइ छ।