धनगढी। धनगढीमा ग्रेडरले च्यापेर स्कुले बालिकाको ज्यान गएपछि मृतकका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका छन्।
कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु भएको थियो।
बालिकाका आफन्तले ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गराएका हुन्।
मुद्दा दर्तापछि ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालिकाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि मात्र उनीहरुले बालिकाको शव बुझेका छन्।
पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने चेतना साउदको बिहीबार बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो।
त्यसपछि सुरू भएको आन्दोलन दोस्रो दिन पनि जारी रह्यो। यस क्रममा प्रहरीले शुक्रबार दिउँसो दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ।
विद्यार्थीको हुललाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो भने जवाफमा विद्यार्थीले ढुंगा प्रहार गरेपछि केहीबेर तनाव सृजना भएको थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा जारी गरेको निषेध आदेश आज शनिबार बेलुका ४ बजेदेखि हटाउने भएको छ।
साउदको मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिन नदिन निषेध आदेश जारी गरिएको थियो।
आदेश अनुसार बिहीबार बेलुका ७ बजेदेखि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घटनास्थल र मुख्य बजार क्षेत्र समेटेर चार किल्ला तोकी सोभित्र पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको थियो।स्राेत : सेताेपाटी