विराटनगर। १५ करोड लगानीमा मेडिकल हबका रूपमा चिनिएको विराटनगरमा अर्को न्यूरो अस्पतालका रूपमा आर्या न्यूरो हस्पिटल खुलेको छ। वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटासँग लामो समय काम गरेका कन्सल्ट्यान्ट न्यूरो सर्जन डा. पङ्कजराज नेपालका नेतृत्वमा विराटनगरको कञ्चनबारी चोकमा २५ बेडको आर्या न्यूरो हस्पिटल खुलेको हो।
डा. नेपालले स्थानीयको भवन र कम्पाउन्ड लिजमा लिएर १५ करोडको प्रारम्भिक लगानीमा अस्पताल सञ्चालनको सुरुवात गरेको जानकारी गराएका छन्। सुपर स्पेसियलालिटी अस्पतालको अवधारणामा यस अस्पताललाई सञ्चालन गर्ने कुरा पनि उनले जानकारी दिएका छन्।
न्यूरो सर्जरी भनेको अति विशिष्ट र गम्भीर प्रकारको उपचार भएकाले यसका लागि चिकित्सकले मात्र नभई हाउस किपिङ, क्लिनिङ, नर्सिङ लगायतका सबै फाँटका जनशक्तिले विशिष्ट प्रकारको सेवा दिनुपर्ने र आफुहरु त्यस्तै सेवा दिन त्यहाँ गएका कुरा डा. नेपालले जनाएका छन्। नेपालका अनुसार अस्पतालमा न्यूरोसम्बन्धी सम्पूर्ण सेवाका अतिरिक्त हाडजोर्नी, इएनटी, डेन्टल, जेनरल ल्याप्रोस्कोपिक सर्जरी, फिजिसियस सर्भिस, फिजिओथेरापी, आइसियु तथा भेन्टिलेटर सेवा, सीटी स्क्यान, एमआरआई लगायतका सुविधा हुनेछन्।
अस्पतालमा डा. नेपालको व्यवस्थापकीय टिममा फरेन्सिक विशेषज्ञ डा. अर्चना चौधरी नेपाल र फिजिसियन दिनेश ठाकुर रहेका छन्। उनले अस्पतालमा हाल १२ चिकित्सकको समूह र ११ नर्सिङ स्टाफ कार्यरत रहने जानकारी दिएका छन्। नेपालले विकसित मुलुकमा न्यूरो सर्जरीमा १५ प्रतिशत र दक्षिण एसियामा ३० प्रतिशत मृत्युदर रहेको जानकारी दिएका छन्।