काठमाडौं। चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह भन्सार र क्वारेन्टिन नबन्दा सञ्चालनमा आउन सकेको छैन। बन्दरगाहको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले भौतिक निर्माणको काम सम्पन्न गरेको हो।
समितिले भन्सार र क्वारेन्टिनको लागि भवन निर्माणसमेत गरेर कार्यालय स्थापनाको लागि भन्सार र क्वारेन्टिनलाई जानकारी गराएको थियो। भन्सार कार्यालयले भने प्रतिस्थापन विधेयकमा चोभार सुख्खा बन्दरगाहको नाम समाबेश गरेर कार्यविधि निर्माणको चरणमा रहेको बताएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल समितिले भौतिक संरचनाको निर्माण पूरा गरिसकेको जानकारी दिए। गजुरेलले भने, हामीले गर्नुपर्ने काम सकियो। अब भन्सार कार्यालय र क्वारेन्टीन आएर बसेपछि सुख्खाबन्दगाह सञ्चालनमा आउने छ।
भन्सार विभागका निर्देशक विक्रम खड्काले चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय स्थापनाका लागि काम भइरहेको बताए। खड्काले भने, ‘भन्सार विभागले सुख्खा बन्दरगाह कसरी सञ्चालन गर्ने भनेर कार्यविधि बनाएर अर्थ मन्त्रालयलाई पठाएको छ। केही दिनमा त्यो स्वीकृत भएर आउँछ होला।’
कस्ता वस्तुहरु चोभारको सुख्खा बन्दरगाहमा ल्याउन दिने भन्ने समेन एकिन भएको छैन। सीमानाकाबाट छुटेर चोभार आएका बस्तुहरु बाटैमा हराउन नदिनका लागि सफ्टवेयर निर्माणको काम पनि भन्सार विभागले गरिरहेको खड्काले बताए।
कृषि मन्त्रालय अन्तगतको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले सुख्खा बन्दरगाहमा क्वारेन्टीनको कार्यालय राख्नका लागि कृषि मन्त्रालयसँग कर्मचारी स्वीकृतिको माग गरेको बताए।
उक्त बन्दरगाह सञ्चालनमा आएपछि विदेशबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन पाइनेछ। नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ। नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले आयातकर्तालाई सहज हुनेछ।
स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए।
बन्दरगाह निर्माणका लागि शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेर १ अर्ब ६० करोड खर्च भएको छ। निर्माणमा विश्व बैंकले सहयोग गरेको थियो। निर्माणको जिम्मा आशिष र साक्षी ज्वाइन्ट भेन्चरले लिएका थिए। निजगढ–काठमाडौं द्रुतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहबाट व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगई चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्नसक्ने छन्।