ओखलढुुङ्गा। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अत्याधुनिक नयाँ भवनमा सरेको छ । साबिक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार रुपियाँको लागतमा सुविधा सम्पन्न भवन औपचारिक रूपमा सञ्चालनमा आएको हो।
नवनिर्मित भवनको एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले उद्घाटन गरेका छन्। कार्यालय भवनसँगै, जवान ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत र जुनियर अधिकृत आवासलगायत नव निर्मित भवनहरूको आइजिपी सिंहले उद्घाटन गरेका हुन्।
प्रहरी सङ्गठन जनताप्रति समर्पित एक कुशल र प्रतिबद्ध सङ्गठनलाई भएका थप मजबुद, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाहरूले ठूलो भूमिका खेल्ने आइजिपी सिंहले बताए। नवनिर्मित भवनले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीको अव्यक्त पीडाको अन्त्य भएको विश्वास व्यक्त गर्दै यसले थप हौसला मिल्ने अपेक्षा रहेको उनको भनाइ छ।
नव–निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, भान्साघर तथा शौचालयका भवनहरू भौगोलिक बनावटअनुसार भूकम्प प्रतिरोधात्मक, मजबुद र सुन्दर रहेको १ नं. प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखाले जनाएको छ।
अत्यावश्यक भौतिक संरचनाको व्यवस्था भएसँगै सेवा प्रवाहमा सहज हुने ओखलढुङ्गा प्रहरी कार्यालयको भनाइ छ।
२०७६ साल पौष महिनादेखि सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिले जिल्ला प्रहरी कार्यालयको भवन निर्माण कार्य सुरु गरेको थियो । यस अघि जिल्ला प्रहरी कार्यालय भूकम्पले जीर्ण बनाएको पुरानो कच्ची भवनमा थियो ।