काठमाडौं। बागमती प्रदेशको कांग्रेस संसदीय दलको नेतामा दुई जना निर्माण व्यवसायीले दाबी गरिरहेका छन्। मुख्यमन्त्रीका आकांक्षी दुवै निर्माण व्यवसायी आफू आफू संसदीय दलको नेता बन्नका लागि दौडधुप पनि गरिरहेका छन्।
केन्द्रीय सदस्य तथा हिम्दुङग् एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक बहादुर सिंह लामा र बागमती प्रदेशका सभापति तथा बानियाँ निर्माण सेवाका सञ्चालक इन्द्र बानियाँ मुख्यमन्त्रीका लागि पार्टीभित्रै संघर्ष गरिरहेका छन्। निर्माण व्यवसायी समेत रहेका दुवै जना पार्टीको संसदीय दलको नेता बन्न निर्वाचित भएसँगै आन्तरिक तयारी गरिरहेका छन्। लामा र बानियाँ दुबै जना कांग्रेस संस्थापन पक्षका नेता हुन् । प्रदेशसभा सदस्य निर्वाचित भए लगतै लामा र बानियाँ दुबैले संसदीय दलको नेता बन्न आन्तरिक तयारी अघि बढाएका छन् ।
मकवानपुर २ (ख) को २ बाट निर्वाचित बानियाँ मुख्यमन्त्रीमा आफ्नो दाबी रहने घोषणा गरेर नै उम्मेदवार बनेका थिए ।
प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को २ बाट निर्वाचित भएका छन् ।
अघिल्लोपटक दलको नेता भइसकेका बानियाँ यो पटक मुख्यमन्त्री छाड्न तयार छैनन् । केन्द्र सरकारमा राज्यमन्त्री भइसकेको र प्रदेशसभाको अघिल्लो कार्यकालले प्रतिपक्षी नेताको भूमिका निभाइसकेको भन्दै उनले आफू सबै कारणबाट मुख्यमन्त्रीका लागि योग्य भएको बताउँछन्।
लामा पनि मुख्यमन्त्रीका लागि अघि सरेपछि संस्थापन पक्षका सांसदहरु नै दुई धारमा देखिनुपर्ने भएको छ ।
बानियाँ प्रदेशसभा सदस्यहरुले कसको के भूमिका छ भन्ने हेरेर मत दिने बताउँछन्।
बानियाँ अघिल्लो कार्यकालमा मुख्यमन्त्री नजिक पुगेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनले प्रदेशसभामा बहुमत जुटाएको थियो र कांग्रेस र एकीकृत समाजवादीवीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।
अहिले बानियाले काठमाडौं आएर सभापति देउवासहित शीर्ष नेताहरूसँग भेट गरिसकेका छन् ।
बहादुरसिंह लामाले पनि सभापति देउवालगायतसँग १४ मंसिरमा भेटेर मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । निर्वाचित भएलगत्तै शुभकामना आदानप्रदानका क्रममा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई भेटेर उनले मुख्यमन्त्रीमा दाबी गरेको बताए।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि धादिङ १ (क) बाट निर्वाचित माओवादी सांसद शालिकराम जम्कट्टेल, चितवन १ (ख) बाट निर्वाचित एकीकृत समाजवादीका कृष्ण खनाल, एमालेबाट काठमाडौं ९ (ख) बाट निर्वाचित केशवप्रसाद पोखरेल, काठमाडौं ६ (ख) मा एमालेबाट निर्वाचित अमनकुमार मास्के, एमालेबाटै काठमाडौं ७ (ख) मा निर्वाचित प्रकाश श्रेष्ठ पनि आकांक्षी छन्। उनीहरुले पनि आन्तरिक रुपमा मुख्यमन्त्रीका लागि तयारी गरिरहेका छन्।