फिदिम। पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा १५ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका छन्। पाँचथरमा १० वटा र ताप्लेजुङमा ५ वटा गरेर जम्मा १५ वटा झोलुङ्गे पुल निर्माणधीन रहेका हुन्।
पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यले निर्माण कार्य भइरहेको छ। एक नम्बर प्रदेश सरकारको आर्थिक सहयोग तथा पूवार्धार विकास कार्यालय पाँचथरको तत्वाधानमा पुल निर्माण गरिरहेको बताइएको छ।
पाँचथरको फिदिम नगरपालिकामा भर्याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा पुल निर्माण भइरहेको हो।
फालेलुङ गाउँपालिकामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्ली पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटार नामका पुल बनिरहेका छन्।दक्षिणी मिक्लाजुङ गाउँपालिकाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटे पुच्छरमा पुल बन्दै गरको हो।
ताप्लेजुङ अन्तर्गत फुङ्लिङ नगरपालिका ओठे थवाङ र निकाश खोलामा बनाइदै छ। यसै जिल्लाको मेरिङ्देन गाउँपालिकाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गाउँपालिकाको हेल्लोक र मेन्देवा खोलामा निर्माणधीन पुल रहेका छन्। गत वर्ष ताप्लेजुङको सिदिङ्बा गाउँपालिका र पाँचथरको याङ्वरक गाउँपालिका जोड्ने कालीखोलामा पूर्वाधार विकास कार्यालयकै तत्त्वाधानमा झोलुङ्गे पुल बनाउन लागिएको हो।
पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लाग्ने अनुमान छ। स्थानीय उपभोक्ता समितिसँगको सहकार्यमा पुल बन्ने क्रममा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।