काठमाण्डौं। दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ। रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो।
दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ। यसअघि ५१ फिट अग्लो घण्टाघर, जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक रामजानकीपथमा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, मटिहानीबजार समिप निर्मित अत्याधुनिक अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि दुर्गा मन्दिर निर्माण गरिएको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साहका अनुसार वाटिका निर्माणले धार्मिक नगरीको सौन्दर्य अझ बढ्ने नगरवासीले आश गरेका छन्। दीपावली पर्वले जताततै जगमगाएका बेला आफ्नो ठाउँमा सुन्दर वाटिका निर्माणको थालनीले धार्मिक नगरीमा थप उत्साह देखिन्छ।
पछिल्लो स्थानीय तह निर्वाचनयता धार्मिक नगरी मटिहानीको प्राचीन परिचय अझ बढाउन बनाउन जे–जति सम्भव छ, त्यो गरिएकोछ। यी कामबाहेक आम जनताको जनजीविकासँग जोडिएका कृषिसम्वद्ध थुप्रै काम गरिएको पनि नगरप्रमुख हरिप्रसाद मण्डलको जिकिर छ।
नेपाल–भारत सीमासँगै जोडिएको मटिहानी नगर धार्मिक मेला, उत्सवका लागि प्रसिद्ध छ। साउन शुक्लपक्षको झुला महोत्सव, असोज शुक्लपक्षको दुर्गा महोत्सव र दशमीका दिनको रावणवध उत्सव, फागुन शुक्लपक्षको फागु महोत्सव र मिथिला माध्यमिकी ९१५ दिने० परिक्रमाको चौथो दिनको विश्राममा हुने परिक्रमा उत्सव मुख्य हुन्। यी धार्मिक उत्सवमा मटिहानीका स्वस्फूर्त जनजन परिचालित हुने गरेका उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष मोहनप्रसाद गुप्ताले बताए।
नगरका पुराना ऐतिहासिक वैभवसँगै पछिल्ला तीन–चार वर्षयता निर्माण भएका धार्मिक र अन्य विकास संरचनाले आफ्नो नगरको महत्ता झनै बढाएको मटिहानीवासी बताउँछन्। नगरपालिकाले यसै वर्ष करिब तीन करोडको लागतमा अत्याधुनिक रङ्गशाला पनि निर्माण गरेको छ।
नगर संस्कृत शिक्षाको अध्ययन केन्द्र, साधुसन्त परम्पराको प्रतीक र रामायणकालीन पौराणिक गाथासँग जोडिएको हुँदा सो परिचयलाई अझ मजबुत र दीर्घकालसम्म धार्मिक पर्यटनसँग गाँसी राख्न र यी सम्भावनाको भरपूर उपयोग गर्न आवश्यक रहेको मटिहानीका बासिन्दा बताउँछन्।