काठमाडौं। प्रविधिको विकाससँगै सडक निर्माण गर्दा हाल विभिन्न किसिमका प्रविधिको प्रयोग गर्न थालिएको छ। त्यसमध्ये पछिल्लो समय सबैभन्दा धेरै प्रयोग हुने विधिमा सिमेन्ट कंक्रिट ढलान र अस्पाल्ट कंक्रिटकाे कालाेपत्रे मुख्य हुन्।
अस्पाल्टको एउटा मुख्य विशेषता भनेको यो लचिलो हुन्छ। अस्पाल्ट सडक निर्माणका क्रममा विभिन्न तहहरु निर्माण गरिन्छ। पहिलो तहमा आवश्यकता अनुसार जमिनलाई सम्याइन्छ। सम्याइएको जमिन माथि सबबेस अर्थात ग्राबेल बिच्छ्याइ तह मिलाइन्छ। र त्यसमाथि रोलरको सहायताले खाँद्ने काम गरिन्छ। तयार भएको सबबेसमाथि बेस बिच्छ्याइ त्यसलाई पनि रोलरको सहायताले खाँदिन्छ। बेसमाथि प्राइम र ट्रयाक कोटको एक एक तह बनाएर बिटुमेनसँगै मिलाइएको चिप्सबाट तयार बनेको अस्पाल्ट कंक्रिट बिच्छ्याइ रोलरले पेलेर अस्पाल्ट कालाेपत्रे सडक निर्माण गरिन्छ।
यसरी निर्माण गरिएको कालाेपत्रे सडकको विशेषता लचिलो हुन्छ र यसलाई सजिलै भत्काउन र मर्मत गर्न सकिन्छ। अस्पाल्ट प्रयोग भएर निर्माण गरिएका कालाेपत्रे सडकहरु विशेषत पार्किङस्थल, पैदलमार्ग र कम भार भएका सवारी साधन गुड्ने सडकमा प्रयोग गर्न सकिन्छ। यस्तो कालाेपत्रे सडकलाई आवश्यकता अनुसार नयाँ जस्तो बनाउन, देखाउन वा मर्मत गर्दा मात्र माथिल्लो एक तहमा बिटुमेन र चिप्सको मिस्रणबाट तयार गरिएको अस्पाल्ट कंक्रिट बिच्छ्याएर रोलर गरिदिए पुग्छ।
त्यसैगरी सिमेन्ट कंक्रिट प्रयोय गरी निर्माण गरिएको ढलान सडक अस्पाल्ट कंक्रिट प्रयोग गरि बनाइएको सडक भन्दा बढी बलियो र बढी लचिलो पनि हुन्छ। सामान्यतया सिमेन्ट कंक्रिट प्रयोग गरेर निर्माण गरिने सडकमा पहिला जमिनलाई आवश्यकता अनुसार सम्याइन्छ। सम्म पारिएको जमिनमा ढुंगा बिच्छ्याएर त्यसमाथि फलामे छड बुनेपश्चात सिमेन्ट, बालुवा र गिट्टिको मिस्रणबाट तयार भएको कंक्रिट बिच्छ्याइन्छ र उपलब्ध मेसिन वा औजारले त्यसको माथिल्लो सतहलाई आवश्यकता अनुसार चिल्लो वा खस्रो बनाइन्छ। अथवा सिमेन्ट कंक्रिट सडक बनाउँदा सम्म पारिएको जमिनमा ढुंगाको सट्टामा सबबेस अर्थात ग्राभेल बिच्छ्याइन्छ र त्यसमाथि बेस बिच्छ्याइसकेपछि फलामे छड बुनि तयार भएको सिमेन्ट कंक्रिट प्रयोग गरिन्छ।
यसरी तयार भएको सिमेन्ट कंक्रिट सडकले अस्पाल्ट कंक्रिट प्रयोग भएको कालाेपत्रे सडकको भन्दा बढी भार बहन गर्न सक्छ। तसर्थ यसको प्रयोग भारी वजनका सवारी साधन गुड्ने राजमार्गहरु, विमानस्थलका रनवे, सुख्खा बन्दरगाह लगायतमा गरिन्छ।
कालाेपत्रे सडक निर्माण गर्न ठूला उपकरणहरु जस्तै ग्रेडर, रोलर, पेभर लगायतको आवश्यकता पर्छ। यस्ता उपकरणहरु प्रयोग गरी सडक निर्माण गर्दा यी उपकरण आवतजावत गर्न सहज हुने फराकिला तथा ठूलो चौडाइको बाटो आवश्यक पर्दछ। तर सिमेन्ट कंक्रिट सडक निर्माण गर्दा सामान्य साना हाते रोलरले जमिन सम्याइ निर्माण श्रमिकले ढुंगा बिच्छ्याएर नै त्यसमाथि ढलान गर्न सकिने हुँदा ठूला उपकरणको आवश्यकता पर्दैन। त्यस कारण साँगुरो बाटो भएको क्षेत्रमा पनि यस प्रकारको सडक निर्माण गर्ने गरिन्छ।
कतिपय अवस्थामा सिमेन्ट कंक्रिट मात्र प्रयोग गरिएको सडकको माथिल्लो सतह एकैनासको नहुने हुँदा त्यसमाथि अस्पाल्ट कंक्रिटको एक तह बिच्छ्याइ सडकलाई चिल्लाे कालाेपत्रे गर्ने समेत गरिन्छ।
कालाेपत्रे सडक निर्माण गरिसकेपछि तुरुन्तै सुक्ने हुँदा यसरी निर्माण गरिएको सडक केही समयपछि नै प्रयोग गर्न सकिन्छ भने सिमेन्ट कंक्रिट प्रयोग गरि निर्माण गरिएको सडकको ढलान सुकेर बलियो नभएसम्म प्रयोग गर्न मिल्दैन। सिमेन्ट कंक्रिट सडक निर्माण गरिसकेपछि सुक्न करिब ७ देखि १० दिनसम्म लाग्छ जबकी अस्पाल्ट सडक केही घण्टामा नै सुक्छ।
यी दुवै प्रकारका सडकको विशेषता, उपयोगीता, आवश्यकता र सहजता हेरी कुन प्रविधि प्रयोग गर्ने निर्णय गर्न सकिन्छ।
तर नेपालको परिपेच्छमा कालाेपत्रे सडकमा प्रयोग हुने बिटुमेन नेपालमा उत्पादन नभइ आयात गर्नुपर्ने हुँदा स्वदेशी मुद्रा बाहिरिने हन्छ भने सिमेन्ट कंक्रिट प्रयोग गर्दा सम्पूर्ण निर्माण सामाग्री स्वदेशी प्रयोग गर्न सकिन्छ। कालाेपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक ३ गुणा बढी बलियाे हुने विज्ञहरू बताउँदै आएका छन्। स्वदेशी मुद्रा विदेशीन नदिनका लागि समेत निर्माण विज्ञहरुले स्वदेशमै उत्पादन हुने सिमेन्ट प्रयोग गरी निर्माण हुने सिमेन्ट कंक्रिट सडकलाई प्राथमिकता दिन सुझाउने समेत गरेका छन्।