मकवानपुर। ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यासका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम थापा मकवानपुर आउने भएका छन्। भीमफेदी गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तथा योजाना तर्जुमा गरिएकाले निर्माण कार्यको शिलान्यासका लागि प्रधानसेनापति थापा बुधबार मकवानपुरको भीमफेदी आउने भीमफेदी गाउँपालिका अध्यक्षले जानकारी गराएका छन्।
गाउँपालिकाको सक्रियतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको हो। कुल २८ करोड रुपैयाँको गुरुयोजनासहित अघि बढाइएको सो आयोजनाको लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिएको अध्यक्षको भनाइ रहेको छ।
यस आयोजना निर्माण कार्यका लागि गत कात्तिक ७ गते निर्माण व्यवसायी कम्पनी अनक/माउन्टेन/गोले जेभीसँग ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका योजना प्रमुखले जानकारी दिएका छन्। यस चालु आर्थिक वर्षमा वास्तुकलायुक्त प्रवेशद्वार तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने जनाइएको छ भने २ वर्षभित्र अन्य निर्माण तथा संरक्षणका काम सम्पन्न गरिने योजना प्रमुखले बताएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी अहिले जीर्ण अवस्थामा रहेको छ। मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केहीमाथि र देउराली डाँडाको मुनि अवस्थित गढीमा अझै पनि त्यतिबेला युद्धमा प्रयोग भएको तोपको अवशेष छ। चिसापानीमा बटुक भैरवको मन्दिर पनि रहेको छ। यस क्षेत्रमा पर्यटनको प्रशस्त सम्भावना भएका कारण त्यसको विकास, प्रवर्द्धन र प्रचारप्रसारका लागि पालिकाले पर्यटन गुरुयोजना तयार गरेको हो। यस कार्यले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक चिसापानी गढीमा पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने पालिकाको विश्वास रहेको छ।
तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोष्ट रहेको तथा सामरिक महत्वको चिसापानी गढी, त्यहाँ रहेको बटुक भैरव मन्दिर र काली तोपको छुट्टै पहिचान रहेको छ भने उक्त गढीमा आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको काली तोप, यत्रतत्र छरिएर रहेका कार्तुस तथा गोलाहरुले अवलोकनकर्तालाई तत्कालीन समयको परिकल्पना गराउन मद्दत पुर्याउँछ।
यस चिसापानी गढी किल्लाको निर्माण वैज्ञानिक आधारमा भएको र किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ। ऐतिहासिक चिसापानी गढीमा परापूर्वकालमा काठमाडौं उपत्यका जानका लागि भिसा लगाउनु पर्दथ्यो। चिसापानी गढीमा रहेको काली तोप, बडाहाकिमको घरलाई जस्ताको तस्तै राखेर संरक्षणको प्रयास थालिने अध्यक्षले बताएका छन्।