खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा रहेको छ ऐतिहासिक प्रिमाकोट गढी । किरात राजा कुम्राहाङले शासन चलाएको ऐतिहासिक गढी अग्लो डाँडामा जंगलबीचमा अवस्थित छ । तर किरात समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोट गढी प्रचार–प्रसार र संरक्षण अभावमा ओझेलमा परेको छ ।
देउरालीडाँडाबाट जंगल र झाडी पार गर्दै प्रिमाकोट गढी पुगिन्छ । जंगलबिचमा दुईतिर बंकरको अवशेष रहेको छ । दुई बंकरकोबीचमा दरबारको चरको ढुंगाहरु यत्रतत्र अवस्थामा छरिएका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा खिया लागेको तीरहरु भेटिने गरेको छ । हाल घुमफिरका लागि स्थानीय प्रिमाकोटगढी पुग्ने गरेका छन् ।
प्रिमाकोट गढी र डुम्रेकोटका राजाबीचमा युद्धको मिति तय गरियो । प्रिमाकोट गढीका कुम्राहाङ चतुर थिए । उनले युद्धको अघिल्लो दिन छालाको जुत्ता व्यपारी (सार्की)को भेषमा सुराकी पठाए । सुराकी खास्टोमा जुत्ता पोको पारेर रावा खोला झरे र चिन्डोमा पानी भरेर डुम्रेकोटतिर निस्के । डुम्रेकोट पुगेपछि सोधपुछ भयो । उनले आफु जुत्ता व्यापारी भएको परिचय दिँदै जुत्ता किन्न आग्रह गरे । साँझ पर्दैगएकाले डुम्रेकोटका सेनाले उनलाई ‘रात पर्यो, यहीँ बस, भोली बिहान जुत्ता किनौंला’ भनेर राखे ।
युद्धका लागि डुम्रेकोटका सेनाले बन्दुक भरेर तयारी अवस्थामा राखेका थिए । राती प्रिमाकोट गढीका सुराकी उठेर प्रत्येक बन्दुकको नालमा चिन्डोको पानी हालिदिएर भागे । भोलीपल्ट युद्ध सुरु भयो । बन्दुकमा पानी पसेकाले युद्धमा डुम्रेकोटतर्फको सेनाको बन्दुक पड्केनन् । धनुषबाणको भरमा उनीहरु प्रिमाकोट गढीका सेनासँग पराजित भएको इतिहास रहेको स्थानीय सुरेन्द्र राई बताउँछन् ।
किरातको बसोबास रहेको प्रिमाकोट गढी आसपासमा क्रमशः खसक्षेत्री समुदायको आगमन भए । प्रिमाकोट गढीलाई पनि देउरालीडाँडा भनेर चिन्न/चिनाउन थालिए । किरात समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दैगएको स्थानीय तुलबहादुर राईले बताए । ‘प्रिमाकोट गढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो,’ तुलबहादुरले भने, ‘किरात समुदायले आफैले पनि गढीको बारेमा बिस्तृत रुपमा बुझ्न चाहेन । यसको संरक्षण गर्न पहल गरेनन् । यही कारण गढी ओझेलमा पर्ने नै भयो ।’
ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रुपमा कुनै योजना बनेको छै्रन । गढीको प्रवद्र्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । पछिल्लो समय ओझेलमा प्रिमाकोट गढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउँछन् । ‘यो किरात राईको ऐतिहासिक ठाउँ हो । यहाँ किरात सँस्कृति झल्काउने संरचना बनाउनेगरी डिपिआर बनाउने योजनामा छौँ,’ वडाध्यक्ष कार्कीले भने, ‘दुधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नका लागि समेत यो ठाउँ उपयुक्त पइन्ट बन्नेछ ।’