मुगु। असोज अन्तिम साताको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले खार्पुनाथ गाउँपालिकाका ३ सय ४० घरधुरीमा खानेपानीको समस्या भएको छ। वर्षासँगै प्याउनाखोलामा आएको बाढीले खानेपानीको ट्यांकी बगाएपछि दुई सातादेखि खानेपानी अभाव भएको हो।
मुहानमा माथिबाट आएको पहिरोले पनि क्षति पुर्याएको छ। बाढीपहिरोले खार्पुनाथ गाउँपालिका–१ गोप्का, खार्पुनाथ गाउँपालिका–२ थाली, पान्लाचौर र चुचेओरलगायत गाउँका बासिन्दा खानेपानीको सास्ती भोग्न बाध्य भएका हुन्।
बाढीपहिरोले खानेपानी योजना क्षतविच्छेद बनाएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए। गाउँमा खानेपानी अभाव भएपछि स्थानीयलाई गोरुपानी, प्याउनाखोलालगायत खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता भएको उनले जानकारी दिए।
खार्पुनाथका सबै बस्तीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी योजना निर्माण गरेको थियो। अधिकांश योजनाको ट्यांकी र पाइपलाइन बाढीले बगाएपछि गाउँमा समस्या चुलिएको अध्यक्ष रावलले बताए।
वर्षाले गाउँपालिकाभरि नै घर, पुलपुलेसा, पाटीपौवा, बाटोघाटो, मन्दिर, सडक, सिँचाइलगायत संरचनामा ठूलो क्षति पुर्याएको छ। पहिरो जाँदा खार्पुनाथ–५ मा एकै घरका ६ जनाले ज्यान समेत गुमाएका छन्। गाउँपालिकाका अनुसार २३ घर भत्किएका छन्। पालिकाभरि ठाउँठाउँमा सडक भत्किँदा र पुल बगाउँदा आवतजावतमा समस्या भएको छ।