बेनी। म्याग्दी र बागलुङ जिल्ला जोड्ने झोलुंगे पुल निर्माण भएपछि डेढ घण्टाको यात्रा अवधि ५ मिनेटमा छोटिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि ३८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो।
पुल बनेपछि दुई जिल्लाका वासिन्दालाई आवतजावत गर्न एक घण्टा तीस मिनेटको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको बागलुङ नगरपालिका–४ कुडुले फेदीका शशिधर सापकोटाले बताए।
‘बागलुङबाट रत्नेचौर पुग्न पहिले डेढ घण्टा लाग्दथ्यो,’ उनले भने, ‘पुल बनेपछि पाँच मिनेटमा पुग्न सकिन्छ।’ बेनी नगरपालिका–१ रत्नेचौरका गोरे किसानले पुल अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको बताए।
संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुल निर्माण गरेको हो। पुल बनाउन २०७८ असोजमा थानी–हिमशिखर जेभीले तीन करोड पचास लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने, स्टिल डेग, दायाँ र वायाँतर्फ जाली हालेर लठ्ठा कसेपछि आवतजावत गर्न सकिने भएको बताए। ‘दुईतर्फ स्ल्याब हाल्न, भार परीक्षण र प्राविधिक नापजाँचको काम बाँकी छ,’ उनले भने, ‘पुलमा सर्वसाधारण आवतजावत गर्न थालेका छन्।’
पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरका निवर्तमान वडाअध्यक्ष टेकबहादुर रावलले यो पुलले आवतजावतमा सहजताका साथै रत्नेचौरमा पर्यटकको चहलपहल बढाउन सहयोग पुगेको बताए।
रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायतका गतिविधि गर्ने भएकाले पुलले सुविधा पुगेको छ।
बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको शालग्राम संग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, श्री लक्ष्मिहरी मन्दिर, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने पूर्व वडाअध्यक्ष रावलले बताए।
पुल निर्माण गर्न बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटालगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए। यो म्याग्दीमा निर्माण भएको तीन सय मिटरभन्दा लामो तेस्रो झोलुंगे पुल हो।
यसअघि रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५.८० मिटर लामो र १४८ मिटर अग्लो झोलुंगे पुल निर्माण भएको थियो। एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरी गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो।