काठमाडौं। निर्माण व्यवसायी सम्पर्कबिहीन हुँदा सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ। ४१ लाख ९० हजार पेस्की लिएर निर्माण व्यवसायी सम्पर्कबिहीन भएपछि अस्पताल निर्माणको काम अलपत्र परेको हो।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो। ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि निर्माण कम्पनीले १ प्रतिशत पनि काम नगर्दा उक्त १० सैया अस्पताल आयोजना अलपत्र बनेको छ ।
जिल्लाको विकट गाउँपालिका सुस्ताले १० सैयाको अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरि गतबर्ष ठेक्का आव्हान गरेको थियो । अस्पताल निर्माणका लागि प्रकृति, कास्यव, समिर जे.भी कम्पनीले ४ करोड, ८९ लाख २७ हजार ८१९ रुपैयामा ठेक्का कबोल गरि निर्माण कार्यको जिम्मा लिए । २४ महिनामा अस्पताल निर्माण कार्य सम्पन्न गर्नेगरि २०७८ असार ६ गते निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भयो ।
सम्झौता भएको १६ महिना बितिसक्दा पनि निर्माण कम्पनीले एक सुको पनि काम नगरि फरार रहेको गाउँपालिकाको आरोप छ । ठेक्का सम्झौता भएपछि काम शुरु गर्न निर्माण व्यवसायीले गाउँपालिकाबाट पहिलो पेस्की बापत ४१ लाख ९० हजार लिएर गएको छ तर हालसम्म १ प्रतिशत पनि काम नगरेको गाउँपालिकाले जनाएको छ।
अस्पताल निर्माण गर्न पालिकाले पटक–पटक निर्माण कम्पनीलाई चिठी पठाउँदा पनि वास्ता नगर्दा आयोजना प्रभावित बनेको छ ।
१६ महिनासम्म पनि काम सुरु नगर्ने, पालिकाको सम्पर्कमा नआउने कम्पनीसंग पेश्की फिर्ता लिने र बैंक ग्रारेण्टी जफत गरि कालोसुचीमा राखी कार्यबाही गर्ने पालिकाले योजना बनाएपछि भने निर्माण कम्पनीले काम गर्ने ठाउँमा उल्टै जग्गा यकिन नगरेकाले काम गर्न नपाएको भन्दै उच्च अदालत तुल्सीपुरबाट अल्पकालिन आन्तरिक आदेश समेत ल्याएको पालिकाले जनाएको छ । आदेशमा छलफलका लागि दुबैपक्षलाई बोलाइएको र बैँक ज्ञारेन्टी जफत नगर्न आदेश रहेको छ ।