काठमाडौं। लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण सुरु गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले कोसेलि घर निर्माण सुरु गरिएको हो।
नगरपालिकाका अनुसार नगरपालिकाको वडा नं. ६ ठाँचीचौरस्थित प्रशासकीय भवन परिसरभित्र निर्माण सुरु गरिएको हो। कोसेली घर निर्माणपछि नगरपालिकाका ११ वटै वडाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिने बताइएको छ। स्थानीयले उत्पादन गरेका सामग्री राख्नका लागि घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
अबको एक महिनाभित्र कोसेली घर निर्माण सकिने कोसेली घर दुई तलाको हुने छ। परम्परागत शैलीमा गोलाकार घर बनाइएको छ। माथिल्लो तलामा ढुङ्गाले छाइने छ। अन्य पालिकाको भ्रमण गरेपछि २०७८/०७९ को जेठबाट निर्माण थालिएको हो । कोसेली घरमा ऐतिहासिक फोटोहरू झल्किने गरी रंगरोगन हुने छ । माथिल्लो तल्लामा संग्राहलय निर्माण गरिने छ । यसले पर्यटक प्रवर्द्धन हुने विश्वास लिइएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा मेड्पा कार्यक्रमले ५ लाख रुपियाँ विनियोजन गरेको थियो । २०७७/०७८ मै नगरपालिकाले ५ लाख विनियोजन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा पनि ५ लाख विनियोजन गरेको हो । कुल १५ लाख रुपियाँमा कोसेली घर निर्माण भइरहेको नगरपालिकाले जनाएको छ।
उक्त निर्माणधिन कोसेली घर सञ्चालनका लागि कुनै इच्छुक व्यवसायीलाई भाडामा दिइने छ । गाउँमा उत्पादन भएको गुन्द्रुक, भट्ट, मह, कोदो, रक्सी, कागुनु, फापर, आलु, अन्य तरकारीहरू, हातले बुनेका सामग्री राखिने छ ।