काठमाडाैं। प्लम कंक्रिट ढलानलाई साइक्लोपियन कंक्रिट वा रुबल कंक्रिट पनि भनिन्छ। प्लम कंक्रिट गर्नुपूर्व सिमेन्ट, गिट्टि र बालुवाको समिश्रण गरी गिलो मसला तयार गरिन्छ। यसरी तयार भएको मसलालाई काठ वा प्लाइको फर्माको सहायताले प्लम कंक्रिट गर्नुपर्ने स्थानमा राखिन्छ।
मसला सँगसँगै करिब १५० मिलिमिटरदेखि माथिका आकारका ढुंगाहरु आवश्यकता र उपलब्धताका आधारमा ढलानको करिब ३० देखि ४० प्रतिशत हुने गरी थप गरिन्छ। यसरी ढुंगा थप गर्दा हाइड्रेसनको तापक्रम कम हुन गइ ढलानको गुणस्तर कम नभइ सिमेन्टको अतिरिक्त मात्राको प्रयोगलाई कम गर्छ।
यसरी तयार भएको प्लम विशेषत ठूलो परिमाणमा ढलान गर्नुपर्ने संरचनाहरु जस्तै ठूला बाँध, तटबन्ध, गहिरो वा सतह नमिलेका क्षेत्रहरु, ठूला संरचनाका जग निर्माण गर्दा लगायतका भौतिक संरचनाहरुमा बढी प्रयोग गरिन्छ।
प्लम कंक्रिटको प्रयोग गर्दा परम्परागत ढलानमा लाग्ने लागतभन्दा कम लागतमा नै करिब परम्परागत ढलानको क्षमता बराबरकै संरचना निर्माण गर्न सकिन्छ।
प्लम कंक्रिटका लागि कस्ता ढुंगा प्रयोग गर्ने?
प्लम कंक्रिटमा प्रयोग गरिने ढुंगाका आधारमा यसको गुणस्तर निर्धारण गरिने हुँदा प्लम कंक्रिटमा प्रयोग हुने ढुंगा छनोटमा विशेष ध्यान दिनु जरुरी हुन्छ।
१.प्लम कंक्रिटका लागि ढुंगा छनौट गर्दा ढुंगाको आकार कम्तिमा १५० मिलिमिटर हुन आवश्यक छ। तर निर्माण हुने संरचनाको आकार, प्रयोग, इञ्जिनियरिङ डिजाइनका आधारमा ३०० मिलिमिटर वा सोभन्दा ठूलो आकारका प्राकृतिक वा अन्य ढुंगा समेत प्रयोग गर्न सकिन्छ।
२.प्लम कंक्रिटको गुणस्तर वृद्धि गर्न ‘कोण’ आकार भएको खस्रो ढुंगाहरु प्रयोग गर्न सकिन्छ।
३.प्लम कंक्रिटमा प्रयोग हुने ढुंगामा तेल, ग्रीज तथा अन्य फोहोर टाँसिएको हुनुहुँदैन। यदि टासिएको ढुंगा प्रयोग गरिएमा ढलानले पकड्ने क्षमता कम भइ प्लम कंक्रिटको गुणस्तरमा ह्रास आउँछ।
४.प्लम कंक्रिटमा प्रयोग हुने ढुंगा गुणस्तरिय, बढी तौल भएको, नचर्किएको तथा अन्य संरचनात्मक क्षति नभएको हुनु आवश्यक हुन्छ।
५.प्लम कंक्रिटमा प्रयोग हुने ढुंगामा कुनै पनि जैविक वस्तु जस्तै किरा, लेउ, झ्याउ लगायत नटाँसिएको हुनुपर्छ।
६.प्लम कंक्रिटमा प्रयोग गरिने ढुंगा चिल्लो र गोलो आकारको हुनुहुँदैन।
प्लम कंक्रिटको प्रयोग वा निर्माण कसरी गर्ने?
१.प्लम कंक्रिट निर्माण गर्नुपूर्व प्लम कंक्रिट निर्माण हुने सतहमा पानी छम्कनु पर्छ। पानी छम्किसकेपछि एन्टि-टर्माइट कम्पाउन्ड छर्कने गरिन्छ, जुन संरचनाको जगका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ।
२.प्लम कंक्रिटमा ढुंगा राख्नु पूर्व २ तह सिमेन्ट, बालुवा, गिट्टि मिश्रण गरिएको ढलान मसला राख्नु पर्छ, जसले गर्दा ढुंगाको तल्लो भागलाई सिमेन्टले समात्छ र ढलान भित्र हावा छिर्ने प्वाल रहन दिँदैन।
३.दुई तह ढलान मसला राखिसकेपछि ढुंगालाई विस्तारै मसलामाथि मिलाएर राख्नुपर्छ। यसरी राखिएको ढुंगाहरु एक अर्का र फर्माबाट पनि ५० मिलिमिटरभन्दा टाढा हुनुहुँदैन।
४. प्लम कंक्रिटमा प्रयोग हुने ढलान र ढुंगा एक पछि अर्को गरी तह तह बनाइ राख्नुपर्छ।
५.प्लम कंक्रिटमा प्रयोग भएको ढलान वा ढुंगाको तह ९०० मिलिमिटर भन्दा बढी हुनुहुँदैन।
६.यसरी तयार भएको प्लम कंक्रिटलाई सिमेन्ट सेट भएपछि कम्तिमा सात दिनसम्म दैनिक दुई पटक पानीले भिजाइ क्युरिङ गर्नुपर्छ। जसले गर्दा प्लम कंक्रिटलाई बलियो बनाइ यसको गुणस्तमा वृद्धि हुन्छ।
प्लम कंक्रिट किन प्रयाेग गर्ने?
परम्परागत शैलीको ढलान गर्दा सम्पूर्ण परिमाणमा सिमेन्ट, बालुवा, गिट्टिको प्रयोग गर्दा लागत बढी हुन्छ । तर प्लम कंक्रिटमा परिमाणको ३० देखि ४० प्रतिशत ढुंगा प्रयोग हुने हुँदा सिमेन्टको मात्रा कम हुन गइ लागत कम हुन्छ। यस्तो कंक्रिट प्रविधिबाट निर्माण गरिने संरचनाको गुणस्तरमा पनि त्यत धेरै फरक हुँदैन।
विश्वका अन्य मुलुकहरुले विगत केही वर्षदेखि विशेषगरी ढुंगाको मेसिनरी पर्खालको विकल्पको रुपमा अभ्यासमा ल्याएको प्लम कंक्रिट नेपालमा भने विगत ५–६ वर्षदेखि बढी प्रयोग हुन थालेको छ। यसको प्रयोगले परम्परागत ढलानमा लाग्ने लागतलाई कम गरि देशका पूर्वाधार क्षेत्रमा लाग्ने लागत पनि घटाएको छ।