पर्वत। पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ । करिब रु. ४ अर्ब लगानीमा निर्माण पुरा भएको हो।
उक्त आयोजनाको गत मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । आयोजनाका अनुसार १५ दशमलब १ मेघावाट उत्पादनको लक्ष्य लिएको आयोजनामा १८.१ मेगावाट उत्पादन भएको छ ।
चौधरी ग्रुपको लगानीमा सञ्चालित मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मङ्सिर महिनाबाट सुरु गरेको थियो। २०७४ सालमा निर्माण पूरा गर्ने लक्ष्यका साथ सञ्चालन भएको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो ।
परीक्षणका लागि नेपाल विद्युत प्राधिकरणको टोलीले निगरानी गरिरहेको छ । आयोजनाको सबै काम सकिए पनि प्रसारण लाइनमा भने जोडिएको छैन । प्रसारण लाइनको कार्य सम्पन्न भए पनि परीक्षण उत्पादनको सबै काम सकिएपछि मात्रै जडान गरिने आयोजनाले जनाएको छ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ, ती सबै काम पूरा भएका भएपछि परीक्षण उत्पादन थालिएको हो ।
निर्माणको काम थालेको ३ वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना ५ वर्षपछि धकेलिएको हो ।
परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत ४ किलोमिटर लामो प्रशारण लाईनमार्फत १ सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सवस्टेसन जडान गर्ने तयारी भइरहेको छ । ‘१५ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाईनमा जोडिने बताइएको छ।
सुरुवातमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको लागत समेत बढेर ४ अर्ब पुगेको बताइएको छ । आयोजनाको हेडवक्र्स पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ ।