नवलपुर। कावासोती–बुटवल–नारायणगढ सडक निर्माणको कामले पछिल्लो समय तीव्रता पाएको छ । ठेकेदार कम्पनी चाइना स्टेटले यसमा संलग्न सबै प्राविधिक तथा जनशक्तिलाई तीव्र रुपमा काम अगाडि बढाउन निर्देशन दिएको थियो ।
निर्माणका लागि आवश्यक सामग्री माटो, गिट्टी, बिजुली र खानेपानीको पाइप सार्ने काममा थप सहयोग भएमा कामलाई थप तीव्र रुपमा अगाडि बढाउन सहज हुने चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडका तर्फबाट नारायणगण बुटवल सडक खण्डका पोजेक्ट म्यानेजर जाङले बताए ।
अहिले सडकको पूर्वी खण्डमा मात्र एकै पटक १ हजार २ सय कामदारले काम गरिरहेको चाइना स्टेट कम्पनीको सम्पर्क कार्यालय कावासोतीले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म २६ वटा साना पुल सम्पन्न भएका छन् भने ३ वटाको काम भइरहेको छ ।
यसैगरी २ सय ४९ वटा कल्भर्ट सम्पन्न भएको छ भने १८ वटा निर्माणधीन अवस्थामा रहेको छ । निर्माण सामग्रीको अभाव, कोरोना महामारी, बिजुलीको पोल र खानेपानीको पाइप सार्ने काम नहुँदा कामले तीव्रता नपाएको समस्या समाधान भएपछि कामले तीव्रता पाएको नारायणगण बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका प्रमुख रमेश दृष्टिले बताए ।
‘अहिले काम धमाधम भइरहेको छ । जनशक्ति पनि ठेकेदार पक्षले बढाएको छ । केही स्थानमा त सडक कालोपत्रेको लागि अन्तिम तयारी पनि भएको छ,’ उनले भने, ‘कामले तीव्रता पाएपछि स्थानीयहरू पनि खुसी छन् । तोकिएको समयमा सम्पन्न नभए पनि यही गतिमा काम हुने हो भने छिट्टै नै काम सम्पन्न हुने देखिन्छ ।’
गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्ड गरेर १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो। कान्तिपुरबाट