काठमाडौं। शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण गरेको मन्त्री चौधरीले कार्यप्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
निर्माणाधीन संरचनाहरुको स्थलगत निरीक्षण पछि मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्। छलफलका क्रममा उनले सम्बन्धित कर्मचारीलाई काम ढिलाइ हुनुको कारण सोधेका छन्। उनले भने, ‘काममा किन ढिलाई भइरहेको छ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ? ढिलाई गर्दा कमिसन बढ्छ?’
यसपछि मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको भन्दै स्पष्टीकरण दिएका थिए।
मन्त्रीले फेरि अर्को प्रश्न गर्दै भने, ‘कोभिड त सकिएन र?’
‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर’, कर्मचारीले जवाफ दिए।
‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्। मैले के गर्नु पर्यो मलाई भन्नुस्’, मन्त्री चौधरीले भने।
त्यसलगत्तै मन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा निस्किए। त्यहाँ पनि सोचेअनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने र सम्बन्धित पक्षलाई छलफलका लागि मन्त्रालयमा आउन निर्देशन समेत दिएका थिए।